मुख्यमन्त्रीहरु धमाधम विदेशतिर, कोही चीन, कोही अमेरिका

काठमाडौं। प्रदेश मुख्यमन्त्रीहरु धमाधम विदेश दौडामा निस्कन थालेका छन्। प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई आइतवार दोस्रो पटक निजी भ्रमण भन्दै अमेरिकातर्फ लागे। गत वर्ष पनि अमेरिका गएका उनी नियमित स्वास्थ्य जाँचका लागि भन्दै सहयोगी पारुहाङ राईलाई लिएर अमेरिका उडेका हुन्। मुख्यमन्त्री राई बाल्मिोरमामा जुलाई ५, ६ र ७ मा हुने नेपलिज् एसोसिएसन इन अमेरिकाको नेशनल कन्फरेन्समा प्रमुख अतिथिको रुपमा भाग लिन राई त्यसतर्फ प्रस्थान गर्न लागेका हुन । असार १६ गते अमेरिका उडेका मुख्यमन्त्री राई २५ गते फर्कने कार्यक्रम रहेको प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए । यसअघि गत वर्ष अमेरिका जान खोज्दा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको भ्रमण संघीय सरकारले रोकेको थियो।

लालबाबुलाई रोकेपछि प्रदेश १ का मुख्यमन्त्री राई भने अमेरिका उडेका थिए। पोखरेल चीनतर्फ प्रदेश १ का मुख्यमन्त्री राई अमेरिका उडेको भोलीपल्ट प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल १० दिने लामो भ्रमणका लागि चीनको छेन्दुतर्फ उडेका छन्। चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्रा्ष्ट्रिय विभागको निमन्त्रणामा मुख्यमन्त्री पोखरेल सोमवार चीनतर्फ उडेका हुन्। चाइना साउथर्न एयरलाइन्सको नियमित उडानबाट मुख्यमन्त्री पोखरेल छेन्दु प्रान्ततर्फ प्रस्थान गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को निजी सचिवालयले जनाएको छ । मुख्यमन्त्री पोखरेलसहितको १९ सदस्यीय टोली असार २५ मा स्वदेश फर्कने छ ।

भ्रमणका क्रममा चीनको सिचुवान प्रान्त र प्रदेश ५ बीच भगिनी सम्बन्ध कायम गर्ने समझदारी हुने भएको छ। त्यसैगरी सिचुवान प्रान्तको याआन नगर र घोराही उपमहानगरपालिका तथा गोइजाउ प्रान्तको लियुयान्सु नगर र ठाकुरबाबा नगरपालिकाबीच पनि भगिनी सम्बन्ध कायम गर्ने समझदारी हुने बताइएको छ । मुख्यमन्त्रीसँग नेकपा गण्डकी प्रदेशका प्रमुख सचेतक मायानाथ अधिकारी, नेकपा प्रदेश ५ की सचेतक पार्वती पुन, प्रदेशसभा सदस्य हरि रिजाल, प्रदेश ३ का प्रदेशसभा सदस्य राजेश शाक्य, प्रतिनिधिसभा सदस्य नवराज रावत, घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी, ठाकुरबाबा नगरपालिकका मेयर घननारायण श्रेष्ठ, युवा संगठनका अध्यक्ष रामप्रसाद सापकोटा र अखिलका अध्यक्ष ऐन महर चीन गएका हुन्।

त्यसैगरी संविधानसभा सदस्य ऋषि पोखरेल, नेकपा भोजपुर अध्यक्ष प्रेमकुमार राई, मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसी, स्वकीय सचिव तिरनराज गौतम, युवा नेता शिवराम यादव, सुमित्रा विसी, रणबहादुर चन्द, मञ्जुदेवी साह तथा पत्रकारहरू मोहन बाँस्तोला र देविका घर्ती चीन उडेका छन्। पौडले पनि चीन उडे प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल पनि ५ दिने भ्रमणका लागि मंगलबार चीनतर्फ लागेका छन् ।चीनको गान्सु प्रान्तका गभर्नरको निमन्त्रणामा मुख्यमन्त्री पौडेल त्यसतर्फ लागेका हुन्। मुख्यमन्त्री पौडेल चीनको गान्सु प्रान्तको लान्झाउ शहरमा १८ गतेदेखि २१ गतेसम्म आयोजना हुने विविध कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । मुख्यमन्त्री पौडेलसँग उनकी धर्मपत्नी विजया पौडेल, प्रदेश सभा सदस्यहरू जुनेली श्रेष्ठ, कंचन खनाल र राधा घले, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यलयका उपसचिव भोला दाहाल र मुख्यमन्त्री डोरमणि पौडेलका स्वकीय सचीव अनुप पौडेल सहभागी छन् । उनीहरुको टोली असार २२ गते नेपाल फर्कने कार्यक्रम छ ।