
नयाँ दिल्ली। भारतको मुम्बईमा पछिल्लो पाँच दिनदेखि निरन्तर वर्षा भइरहँदा जनजीवन अस्तव्यस्त बनेको छ । दुई दिनमा ५४ सेन्टिमिटर बर्षा भएको मौसम विभागले जनाएको छ । मंगलबार पनि भारी वर्षा हुने अलर्ट विभागले जारी गरे पनि सरकारले मंगलबार सबै सरकारी तथा निजी स्कुल कलेज तथा अफिस बन्द राख्ने निर्णय गरेको छ ।
थुप्रै क्षेत्रमा पाँचदेखि छ फिटसम्म पानी जमेको छ । मुम्बई एयरपोर्टमा स्पाइस जेटको विमान चिप्लिएको थियो । तर यात्रुहरु भने सुरक्षित रहेको जनाइएको छ । यता, मलाड इस्टको पिम्परिपाडामा पर्खाल ढलेर १३ जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् । महाराष्ट्र सरकारले मलाड घटनाका मृतकका परिवारलाई पाँच लाख भारतीय रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
यता, पुणेमा ६ जनाको मृत्यु भएको छ । अम्बेगाउँस्थित सिंघड कलेजको पर्खाल ढलेर ६ जनाको मृत्यु भएको छ । मौसम विभागले मध्यप्रदेशसहित छत्तीसगढ, महाराष्ट्र, गुजरात, झारखण्ड, उत्तर प्रदेश, अरुणाचल, असम र बंगालमा आगामी दुई दिनसम्म भारी वर्षा हुने भन्दै अलर्ट जारी गरेको छ।