इटहरीका जनप्रतिनिधि चौधरी जुवाकोखालमा भेटीए, करीब ३ लाख बरामद

इटहरी। सुनसरीकाे इटहरी उपमहानगरपालिका १५ का वडाअध्यक्ष श्रवणकुमार चौधरीसहित ५ जना जुवाको खालमा भेटिएका छन् । ४४ वर्षीय चौधरीसहित ५ जनाले जुवा खेल्दै गरेको अवस्थामा दुहबी नगरपालिका वडा नम्बर १२ स्थित गंगा चौधरीको घरबाट मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा वडाध्यक्ष चौधरी सहित मोरङ ग्रामथान गाउँपालिका ६ का ४० वर्षीय रुपेशकुमार तामाङ, ग्रामथान ५ का ४० वर्षीय लालबहादुर चौधरी, गढी गाउँपालिका ३ का ४२ वर्षीय रमेश चौधरी र ३९ वर्षीय जोगेन्द्र उराव पनि जुवाखालबाट पनि पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरिक्षक ज्ञानेन्द्र फुयालका अनुसार, जुवाको खालबाट प्रहरीले १६ थान कौडा र नगद रु २ लाख ८५ हजार १ सय १४ बरामद गरेको छ ।

पक्राउ परेका पाँचै जनालाई मुलुकी अपराध संहिताको परिच्छेद ५ अन्तर्गत सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र नैतिकता विरुद्धको कसुर अन्तर्गत मुद्धा चलाउन लागिएको नायव उपरिक्षक फुयालले जानकारी दिए ।