बहादुर गोर्खा नेपालको ब्राण्ड हो, जसले मुलुकको अस्तित्वमा आँच आउन दिएन

  • भीम उपाध्याय 

विश्वमा नेपालको र नेपालीका कोही शत्रु छैनन्। प्रथम र दोश्रो विश्वयुद्धमा पनि नेपाल होमिएको थिएन। कोल्ड वारमा पनि नेपाल असंलग्न रहेको हो र आजसम्म असंलग्न नै छौं।भारत–चीन होस् कि भारत–पाकिस्तान यु’द्धमा होस् नेपालले कसैको साथ दिएन, सदा तटष्थ रहँदै आएको छ। यही तटष्थताको कारण कमजोर र गरिब भए पनि नेपाल आजसम्म अस्तित्वमा छ । अथवा, यसकै कारण अस्तित्वमा गरिब रहन परेको पनि हुन सक्छ।

अंग्रेजले कमजोर सानो नेपाललाई आफूमा गाभेन, भारत वा चीनले पनि गाभेन। तर यस क्षेत्रमा हुने र विगतमा भएका विश्वयुद्धहरूमा वा शान्ति सेनामा गएका नेपाली सैनिक र विदेशीको सेनामा काम गर्ने नेपाली सैनिकहरू भने युद्ध लडिरहन्छन् र वीरगति प्राप्त भईरहेका हुन्छन्। लाखौंले वीरगति पाईसकेका पनि छन्।

विदेशी भूमिको रक्षार्थ लड्न भर्ना भएका नेपाली सैनिकहरू लडाईमा जानु, लडाई गर्नु र यदाकदा मृत्युवरण गर्नु स्वाभाविक नै हुन्छ। जागिर नै त्यस्तो खाएपछि अन्यथा सोच्ने कुरा पनि हुँदैन। तर वीरगति प्राप्त गरेपनि तिनले पाउने राजकीय सम्मान र पारिवारिक आर्थिक भरणपोषणको सुविधा नेपालका मूख्यसचिवको भन्दा बढी राम्रो नै छ। नेपाली सैनिक विश्वमै सबैभन्दा बफादार फौजीमा गनिन्छन्।

लेखक: भीम उपाध्याय

सेनामा होस् कि अरू, कस्तो जागिर कहाँ गएर खाने सबै नेपाली स्वतन्त्र छन्। जस्तो जागिरको प्रकृति हुन्छ त्यस्तै नतिजा आईहाल्छ। यसमा दुःख मनाउ गर्न मिल्दैन, ज्यान गएमा सहानुभूति र श्रद्धान्जली दिनमा कन्जुसू भने गर्न हुँदैन। ब्यक्तिको रोजगारी हो, यसमा राज्यले हस्तक्षेप गर्न हुँदैन। सैनिकको जागिर भारत, पाकिस्तान, चीन, अमेरिका र बेलायतमा निकै प्रतिष्ठित र सुबिधापाउनेमा मानिन्छन्। नेपाली गोर्खा सैनिकको मान शान त झन् कति छ कति। नेपाललाई विश्वमा चिनाउँदै आएको पनि गोर्खाले नै हो।

संभवतः विदेशमा रहेका यिनै गोर्खाका कारण नेपालको अस्तित्वमा कुनै खतरा आउन पाएन, थिएन र आउने छैन। जंगबहादुर र चन्द्र सम्सेरले यसलाई बुझेरै यो श्रोतको अधिकतम् सदुपयोग गरेर विश्व साम्राज्य अंग्रेजलाई पनि नियन्त्रणमा राख्ने कुटनीतिक, रणनीतिक, सामरिक चतुर्याईं गरेर आफ्नो शासन र मुलुकको रक्षा गर्न सफल भएका हुन्।

स्मरण रहोस्, नेपाललाई विश्वले चिन्ने सबैभन्दा ठूलो कारण बहादुर नेपाली गोर्खा नै हो। सगरमाथाको नाम नसुनेको, बुद्धको जन्मस्थलसँग मतलब नराखेको, सिताको माइती, पशुपतिनाथ, मुक्तिनाथ कहाँ पर्छ केही थाहा नहुने वा नपाएका विश्वमा अर्बौं मानिस हुन सक्छन् तर गोर्खाको नाम नसुनेका र यो ब्राण्ड थाहा नभएका सायदै कोही होलान्। बहादुर गोर्खा नेपालको ब्राण्ड हो।

(लेखक उपाध्याय नेपाल सरकारका पूर्वसचिव हुन् ।)