एमसीसी बारे बोल्यो अमेरिकी दूतावास : नेपालको संसदबाट अनुमोदन भैसक्यो

काठमाडौं। संयुक्त राज्य अमेरिकाले अमेरिकी सहयोग परियोजना (एमसीसी) को अनुदान स्वीकार गर्ने वा नगर्ने नेपालको रोजाइको विषय भन्दै यो कोषको रकम नेपाललाई सधैं उपलब्ध नहुने चे’तावनी दिएको छ।

एमसीसी नेपालको संसदबाट अहिलेसम्म अनुमोदन नभएको बारेमा अमेरिका जानकार रहेको भन्दै काठमाडौंस्थित अमेरिकी दूतावासले ५० करोड डलर अनुदान पाउने पहिलो कदम संसदबाट अनुमोदन नै भएको दोहोर्‍याएको छ।

अनुमोदनमा भएको ढिलाइले २ करोड ३० लाख नेपालीलाई थप रोजगारी र आर्थिक वृद्धिको फाइदा दिलाउन समेत ढिला हुने अमेरिकाको दाबी छ । ‘यो अनुदान स्वीकार गर्नु नेपालको रोजाइको विषय हो तर यसअन्तर्गतको कोषको उपलब्धता सधैं खुला रहँदैन । यो कार्यक्रमको व्यावहारिकताको निरन्तरता सुनिश्चित गर्न नेपालमा ठोस, निकटवर्ती कदम जरुरी छ’ दूतावासको विज्ञप्तिमा भनिएको छ।

नेपालको प्रतिनिधि सभामा दर्ता भएको एमसीसी सम्झौता असार १५ गतेसम्म पारित गर्नुपर्ने थियो । तर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्रैको विवादका कारण यो संसदमा छलफलमा समेत आउन सकेको छैन । नेकपाका कतिपय नेताहरू यो सम्झौता सं‌सदबाट पारित गर्न नहुने अडानमा छन्।

अमेरिकाले एमसीसी सम्झौता अहिलेको चरणसम्म आइपुग्न नेपालका प्रमुख राजनीतिक दल सहभागी सरकार र एमसीसीले सन् २०१२ देखि लगातार मिलेर काम गरेको पनि विज्ञप्तिमा उल्लेख छ।