लिबियामा मारिएका सन्तोषको अन्तिम शब्द पढ्नुहोस्

काठमाडौ। युरोपेली मुलुक इटालीका लागि हिँडेका २७ वर्षीय सन्तोष श्रेष्ठ युद्धग्रस्त अफ्रिकी देश लिबियामा मारिए। ‘म अहिले लिबिया छु । अब ३ महिनापछि इटाली पुग्छु । त्यसपछि कल गर्छु है’ श्रेष्ठको परिवारको लागि उनको यो अन्तिम शब्द बन्न पुग्यो ।

लमजुङ बेँसिसहर नगरपालिका ११ का श्रेष्ठ मानव तस्करको चङ्गुलमा परेर त्यहाँ पुगेका थिए । उनको रात्रि आक्रमणमा परी बुधबार मृत्यु भएको त्रिपोलस्थित अन्तर्राष्ट्रिय आप्रवास संगठन (आइओएम) लाई उद्धृत गर्दै कारयोस्थित नेपाली दूतावासले जनाएको छ । घरबाट निस्कँदा युएई जाने भनेर हिँडेका सन्तोषले लिबिया पुगेपछि मात्रै आफू लिबिया हुँदै इटाली जान लागेको परिवारलाई बताएका थिए ।

परिवार सन्तोषको फोनको पर्खाइमा थिए । तर, त्यो नै शब्द परिवारको लागि उनको अन्तिम शब्द र फोन बन्न पुग्यो । १२ कक्षाको अध्ययन सकेका सन्तोष मानव तस्करको चंगुलमा फसे र लिबिया पुगे । लिबिया पुगेपछि उनी हरेक दिन बम, बारुद छल्दै इटाली जानका लागि प्रयासरत थिए। तर, सन्तोष सफल हुन सकेनन्। न इटाली पुगे, न त घरै फर्कन सके।

युद्धग्रस्त अफ्रिकी मुलुक लिबियामा चर्किरहेको द्वन्द्वमा सन्तोष परे। गत बुधबार भएको बम विस्फोटमा उनले ज्यान गुमाए। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार त्रिपोलीस्थित ताजुरा डिटेन्सन सेन्टरमा भएको विस्फोटमा सन्तोषसहित ४० जनाको मृत्यु भयो। एक सयभन्दा धेरै घाइते भए।

उक्त घटनापछि शान्ति सेनामा रहेका सन्तोषकै आफन्त पर्ने एक प्रहरीले परिवारलाई फोन गरे,‘ लिबियामा मानव तस्करको चंगुलमा परेर सन्तोषले ज्यान गुमाए।’ इटाली पुगेर फोनको प्रतीक्षामा रहेको श्रेष्ठ परिवार यो खबरले विक्षिप्त बन्यो।

घरका जेठो छोरा थिए सन्तोष । उनको ४५ वर्षीया आमा र ५० वर्षीय बुबा एक बहिनी छन् । सन्तोष ७ लाख लिएर घरबाट निस्किएका थिए । बिलिया पुगेपछि इटाली पुग्नका लागि अझै ५ लाख लाग्ने भन्दै उनले फोन घरमा फोन गरेको बहिनी अनिताले बताइन् ।