जब प्रचण्ड-बाबुरामलाई मेरो लुगा गन्हायो…

काठमाडौं। राजनीति छाडेर खेतीपातीमा व्यस्त रहेका पूर्वमन्त्री लोकेन्द्र विष्ट मगरले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र नवगठित जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराई आदर्शच्युत रहेको आरोप लगाएका छन्।

उनले पोखरा विमानस्थलको घटना स्मरण गर्दै सामाजिक सञ्जालमार्फत् दुवै नेतामा आदर्श कायम नरहेको र आफूले राजनीतिबाट अवकास लिनु परेको बताएका छन्।

“एकदिन पोखरा विमानथलमामा क.प्रचण्ड र क.बाबुरामसँग थिएँ म, भीआईपी कक्षमा । मैले लगाएको पुरानो थोत्रो ज्याकेटले उहाँहरूलाई लज्जा वोध भएछ क्यारे । मुन्टो निहुराएर कुरा गर्नुभो । मैले सुनिरहे । म अलि पर थिए । सारमा ‘लगाउन, खान र चल्न नजान्ने’ भनेर मेरो चर्को आलोचना भयो । मैले नसुनेझैं गरेर सुनिरहे कान थापेर । मलाई नमीठो लाग्यो,” उनले लेखेका छन्।

त्यतिबेला आफूसँग पैसा नभएको स्मरण गर्दै उनले आर्थिक मितव्ययीता, सादाजीवन उच्च विचार, कडा परिश्रम पार्टी आदर्शका रूपमा बुझेको बताएका छन्।

“आफूसँग पैसा पनि थिएन । भर्खर जसो शान्ति प्रक्रियामा आएको थियो पार्टी । त्यस्तै तीन वर्ष जति भएको हुँदो हो ।आर्थिक मितव्ययिता, सादाजीवन उच्च विचार, कडा परिश्रम हाम्रा आदर्श थिए । पार्टीको आदर्श र नीति भन्दा बाहिर जानू मर्नु जस्तो लाग्थ्यो,” उनले भनेका छन्।

आफ्नो आदर्श नेतृत्वले आदर्शकै खिलाफ खिसिटिउरी गरेको सुनेर–भोगेर भाउन्न भएको, चक्कर आएको उनले बताएका छन् । “तर सम्हालिएर बसेँ र अडिए । यस्ता चक्कर र घनचक्करहरू दर्जनौं भोगियो । अनि लाग्यो मेरो पार्टी र आदर्श त उहिल्यै सक्किएछ । म उल्लु रहेछु, धत् मोरा भनेर आफैँलाई बेस्सरी सरापेर स्वेच्छिक अवकास लिइयो,” उनले राजनीति छाड्नुको कारण बताएका छन्।