अदभूत स्मरण शक्तिका विजय शाही विवेकानन्द बन्न सक्छन् ?

  • शान्तिमान श्रेष्ठ

अहिले विजय शाहीको चौतर्फी चर्चा रहेछ, यसबारे प्रायःजसोले आश्चर्य व्यक्त गरेको देखियो भने कतिपयले अविश्वास गरेको पनि देखियो । के ५–७ मिनेटमा हजार बाह्र सय पृष्ठको पुस्तक पढ्न सम्भव छ ? यसबारे स्वामी विवेकानन्दको चर्चा गर्नु वाञ्छनीय देखिन्छ । स्वामी विवेकानन्द पश्चिमी देशहरुको भ्रमण गर्ने क्रममा जर्मन पुगेका थिए, जहाँ विवेकानन्द त्यो बेलाका विश्वविख्यात दार्शनिक तथा सुप्रसिद्ध लेखक ‘पाल ज्याकब ड्युसन’ का अतिथि थिए।

एकदिन विवेकानन्द ज्याकवको अध्ययन कक्षमा थिए, जहाँ ज्याकबले पढ्ने गरेका हजारौं पुस्तक थिए, सामुन्नेको टेबलमा एउटा वृहत् पुस्तक थियो, जुन जर्मन भाषामा लेखिएको संगीत सम्बन्धि पुस्तक थियो । जब स्वामी विवेकानन्दले ज्याकवसमक्ष यो पुस्तकबारे जिज्ञासा राखे, तब ज्याकवले सो पुस्तकको बखान गर्दै भने, “यो पुस्तक जर्मन भाषामा लेखिएको र हरेक व्यक्तिले पढ्नै पर्ने संगीत सम्बन्धि अति महत्वपूर्ण पुस्तक हो, यो पुस्तक पढ्न हप्तौं महिनौं र कतिपयलाई वर्षौं लाग्छ, तर पढेर पनि बुझ्न कठिन छ , कतिपयले छेउटुप्पो बुझ्दैनन्, म आफैँले यो पुस्तक हप्तौं महिनौं लगाएर बल्ल आधा सिध्याएँ, तर पनि यो पुस्तकको भाव राम्ररी अझै बुझ्न सकेको छैन। सायद तपाईंलाई पनि यो पुस्तक पढ्न हप्तौं महिनौ लाग्न सक्छ र बुझ्न कठिन हुनसक्छ।“

ज्याकवका कुरा सुनिरहेका विवेकानन्दले भने, ‘कृपापूर्वक यो पुस्तक आधा घन्टा जतिको लागि मलाई दिन सक्नुहुन्छ ? तपाईंको कुराले म यो पुस्तक पढ्न इच्छुक रहेँ ।’ विवेकानन्दको कुराले ज्याकबको होस् हवास उड्यो । उनले मनमनै सोचे, विवेकानन्द कुन दुनियाँमा छन् ? मैले हप्तौं–महिनौं लगाएर बल्ल आधा सिध्याएर पनि राम्ररी बुझ्न नसकेको किताब विवेकान्दले आधा घन्टामा पढ्छु भन्दैछन्, जबकि यो पुस्तक जर्मन भाषामा छ र विवेकानन्दले जर्मन भाषा छेउटुप्पो बुझ्दैनन्, उनले ठहर गरे, विवेकानन्दलाई आफ्नो ज्ञान र क्षमता प्रति अनावश्यक दम्भ रहेछ ।

विवेकानन्दको दम्भ तोड्न पनि यो पुस्तक उनलाई पढ्न दिन उचित ठाने । ज्याकवले टेवलबाट उक्त पुस्तक उठाएर विवेकानन्दको हातमा थमाए र सचेत गराउँदै भने, “तपाईंले तोकेको समयमा त यो पुस्तकको केही पान्ना मात्र पढ्न सक्नुहोला र पढेको पान्नाहरुको हरफहरु बुझ्न कठिन होला ।’ विवेकानन्दले सिर्फ यति भने, ‘म विवेकानन्द हुँ, पाल ज्याकब ड्यूसन होइन।’

विवेकानन्द किताब लिएर अर्को कोठामा पुगे र उक्त पुस्तकमाथि केही मिनेट दुवै हात राखे, एकाध मिनेटपछि विवेकानन्द पुस्तक बोकेर ज्याकवकहाँ आए र किताबलाई टेवलमा राखेर भने, ‘मैले पूरै पुस्तक पढेँ, तर पुस्तकमा खासै त्यस्तो महत्वपूर्ण विषयवस्तु रहेनछ ।’

अब त झन् ज्याकवको होसहवास नरहे जस्तो भयो, उनलाई आश्चर्य पनि लाग्यो । केही रिस पनि उठ्यो । ज्याकवले सोचे, विवेकानन्द या त झूठ बोल्दैछन, या त उनलाई आफ्नो ज्ञानको घमण्ड छ र आफ्नो ज्ञानको क्षमतासिद्ध गर्न यसो भन्दैछन् । ज्याकवले विवेकानन्दले बोलेको कुरालाई झूठ सावित गर्न परीक्षा लिने विचार गरेर आफू आधा पढिसकेर आफ्नो स्मरणमा रहेको विषय बस्तुबारे विवेकानन्दलाई प्रश्न राखे, अब चाहिँ ज्याकव आश्चर्यको सीमा नाघेर पागल हुन थालेका थिए, किनकि विवेकानन्दले ज्याकवद्वारा सोधिएका प्रश्नको अक्षरंश जवाफ मात्र दिएनन् उक्त प्रश्नहरु कति नम्बर पेज र कतिऔं हरफसँग सम्बन्धित छ, त्यो पनि जवाफ दिए । विवेकानन्दले उक्त पुस्तकबारे अनेकौं यस्ता तथ्य पनि भनिदिए, जुन कि ज्याकवले हप्तौं लगाएर पनि अझै पढ्न भ्याएका थिएनन् ।

ज्याकवले आश्चर्यपूर्वक विवेकानन्दलाई सोधे, यो कसरी सम्भव छ ? जबकि तपाईं जर्मन भाषा जान्नुहुन्न ।विवेकानन्दले भने, ‘त्यसैले त मलाई दुनियाँले स्वामी विवेकानन्दको रुपमा जान्दछन् । स्वामी विवेकानन्दले ज्याकवलाई ब्रम्हाचार्य, त्याग र संयमको पालना गर्दा मनुष्यभित्र प्रकट हुने असीमित क्षमता, स्मरण शक्तिलगायत अन्य छिपेको शक्ति जागृत हुन्छ भन्ने तथ्य अवगत गराउँदै भने, जस्तो कि एउटा बिजलाई बाहिर छोडियो भने कुहेर जान्छ, किरा लागेर नष्ट हुन्छ, माटो मा गाडियो भने यो बिज फक्रेर वृक्ष बन्छ र असीमित फल पैदा हुन्छ। तपाईंले आफूभित्र रहेको “बिज“लाई नष्ट गर्नु भएको छ मैले म भित्र रहेको “बिज“ लाई फक्रने अवशर दिएको छु ।

ज्याकवले यो रहस्यबारे थप जिज्ञासाहरु पनि विवेकानन्द समक्ष राखे, जसको जवाफमा स्वामी विवेकानन्दले व्याख्या गर्दै भने, ‘तपाईंहरु मस्तिष्कको उपयोग गरेर पढ्नुहुन्छ, मस्तिष्कको क्षमता सिमित हुन्छ, म आफू भित्रको चेतना उपयोग गरेर पढ्छु , चेतनाको क्षमता असीमित हुन्छ ।’ पछि के भयो थाहा छ ? पाल ज्याकब ड्यूसनले सनातन धर्म अंगाले र आफ्नो नाम ‘देव सेन’ राखे र आजिवन सनातन हिन्दू धर्मको अभ्यासी रहे ।

६० देखि ९० को दशकसम्म बहुचर्चित रहश्यदर्शी ओशो रजनिशमा पनि यस खालको आन्तरिक शक्ति थियो । उनले दैनिक १६ देखि ३० वटा पुस्तक पढ्ने गर्थे, जुन एउटा पुस्तक पढ्न सामान्य आम मानिसलाई हप्तौं महिनौं लाग्छ। ओशोले पुस्तक पढिसकेर अन्त्यमा आफ्नो हस्ताक्षर गर्थे, यसरी ओशोले पुस्तक पढिसकेर अन्तिम पृष्ठमा हस्ताक्षर गरेको पुस्तक अहिले पनि १ लाख ६० हजार ओटा छन् । उनले बाल्यकालमा पढेको, पुस्तकालयमा पढेको, अरुसँग मागेर पढेर फिर्ता गरेको, पढेर पनि हराएको अनि स्कुल कलेजमा पढेको पुस्तकको संख्या बेग्लै छ ।

रहश्यदर्शी ओशोको यस खालको अदभूत क्षमताबारे ओशो रजनीशसमक्ष उनका प्रशस्त शिष्यहरुले प्रश्न राखेका छन्, तर हरेक प्रश्नको प्रष्ट जवाफ दिने ओशो रजनीशले आफुमा रहेको अदभूत क्षमताको रहस्यबारे जवाफ दिएका छैनन् । बरु उनले पिक्चोरियल मेमोरीकोबारे बताएका छन् । स्वामी विवेकानन्दले जस्तै ओशोले पनि मस्तिष्कको क्षमता सीमित हुने र चेतनाको क्षमता असीमित हुने अनि पिक्चोरिएल मेमोरी मस्तिष्कसँग होइन, चेतनासँग सम्बन्धित रहेको तथ्य बताएका छन ।

अहिले चर्चामा रहेका विजय शाहिले केही मिनेटमा नै पुस्तकको पाना पल्टाएर सम्पूर्ण पुस्तक कण्ठस्त गर्न सक्ने जुन क्षमताबारे चर्चा चलेको छ । यसबारे मलाई विस्तृत जानकारी त छैन, तर यो क्षमता सम्भव छ, विजय शाहीले पढ्ने क्रममा मस्तिष्क होइन चेतना सक्रिय रहेको हुनसक्छ । वास्तवमा पूर्विय सभ्यतामा यो नौलो विषय थिएन । पूर्विय सभ्यताको मूल जरो, ज्ञान र शिक्षा विलुप्त हुँदै पराई ज्ञान, संस्कृति र शिक्षाको हालिमुहाली हुँदै जाँदा यी विषय हाम्रो लागि आश्चर्य र नौलो लाग्न थालेको हो।

वास्तवमा पूर्विय संस्कृतिको सम्पूर्ण धर्महरु हिन्दु, बौद्ध, जैन धर्मका आश्रमहरुमा शिष्यहरुको लागि यस खालको साधना र अभ्यास अनिवार्य थियो, जस्तो ः जाती स्मरण यस्तै खालको एक साधना अभ्यास हो, जुन हिन्दु, जैन र बौद्ध धर्मको साझा साधना पद्धति हो । यी तिनै धर्मका साधकहरुलाई जाती स्मरण अनिवार्य थियो, किनकि पूर्विय मत अनुसार “जाति स्मरण“ को अभ्यास विना मुक्ति प्राप्त गर्न कठिन हुन्छ । मुक्ति प्राप्तिका मूल २ मार्ग छन्, ‘अनुभव’ र ‘समझ’ । अनुभवको मार्गद्धारा मुक्ति प्राप्त गर्न “जाती स्मरण“को अभ्यास र दक्षता अनिवार्य छ। जस्तो : विवाह, धन, सन्तान, यौनप्रतिको मोह व्यर्थ हो भन्ने तथ्य अनुभवले नै महशुस गरेर ज्ञान प्राप्त नहुन्जेल मुक्ति हुँदैन, तर यी सब कुरा ब्यर्थ हुन भन्ने कुरा व्यवहारिक रुपले कसरी अनुभव गर्ने वा थाहा पाउने ?

जाति स्मरण यस्तो साधना पद्धति हो, जसमार्फत व्यक्तिले आफ्नो कैयौं पूर्वजन्मको स्मरण प्राप्त गर्न सक्छ। जाती स्मरणमा दक्षता प्राप्त व्यक्तिले आफ्नो अघिल्लो कैयौं जन्म देख्छ, साथै उसले यो पनि देख्छ कि उसले त कैयौंपटक विवाह, यौन, धन, सन्तानको अनुभव गरिसकेको रहेछ, तर त्यसले सुख त दिएन ।त्यसैले यीबाट सुख र आनन्द हुने रहेनछ । तर हामी हरेक जन्ममा अघिल्लो जन्मको अनुभव विर्सन्छौं र त्यही कुरा फेरि प्राप्त गर्न जिन्दगीभर लागिपर्छौँ । यस मूर्खताको पूर्णविराम जाती स्मरणको अभ्यास गरेर अघिल्लो कैयौं जन्मको अनुभव स्मरणपछि मात्र सम्भव छ ।

अर्को मार्ग समझको झन् कठिन छ, किनकि चुरोट खानेलाई चुरोटले गर्ने हानी थाहा पाउन र यसको व्यर्थता जान्न जति सजिलो हुन्छ, जीवनभर चुरोट नखानेलाई यसको व्यर्थता थाहा पाउन गार्हो हुन्छ । कार चढ्नेलाई कारले सिर्जना गर्ने झन्झट र तनाव थाहा हुन्छ, तर कार नहुनेलाई कारले सिर्जना गर्ने झन्झट र तनाव थाहा हुँदैन । “समझ“ को बाटोबाट मुक्तिको दिशा समात्न अझ बढी चेतना जागृत हुनुपर्छ ।

समष्टिमा स्पिक्चोरियल मेमोरी पूर्विय सभ्यतामा नौलो विषय होइन, बरु अनिवार्य पक्ष थियो, पूर्वमा आफ्नो प्राचिन ज्ञानहरु विलुप्त हुँदै जाँदा र भुस्याहा पात्रहरुमा देशको नेतृत्व हुँदै जाँदा यस खालको अदभूत ज्ञान र शिक्षा हराउँदै गएको हो । जब भारतको इतिहास र संस्कृतिको क, ख, ग नजान्ने राहुल–सोनियाहरु भारतको सत्ताको केन्द्रमा पुग्छन्, अनि पशुपतिनाथमा पाइला टेक्न लाज मान्ने र आध्यात्मको “अ“ पनि नजान्ने पात्रहरु नेपालको सत्ताको केन्द्रमा पुग्छन्, तब यस खालको दूर्भाग्य निम्तनु स्वभाविक हो, अनि यस्ता गहन अर्थ र गहिरो वैज्ञानिक रहस्य बोकेको विषयहरु आश्चर्य, अविश्वास र वाहियातको विषय बन्न जान्छ ।

पश्चिमी जगतको पुरै दिशा मस्तिष्कको अधिकतम प्रयोग हो, पश्चिमी जगतको अहिलेसम्मको सबैभन्दा प्रतिभावान मानिएको अल्बर्ट आइन्सटाइनले पनि मस्तिष्कको अधिकतम प्रयोग गरेका हुन्, त्यो पनि ५५ प्रतिशत भन्दा कम । मस्तिष्कको दुई भागमध्ये आधा भागको ५५ प्रतिशतमात्रै प्रयोग गरेका हुन् । मस्तिष्कको दुवै भाग सक्रिय भएर शतप्रतिशत प्रयोग हुन सक्यो भने अद्भूत नतिजा प्राप्त हुनसक्छ, भन्छन् पूर्विय रहश्यदर्शीहरु ।

चेतनाको प्रयोग त झन् मस्तिष्कको प्रयोगभन्दा निकै शक्तिशाली प्रयोग हो । चेतन शक्तिको उच्चतम् प्रयोग गर्न सक्ने जुन क्षमता विवेकानन्द, बुद्ध, कृष्ण वा ओशोमा थियो अल्बर्ट आइन्सटाइनले कल्पना पनि गरेनन् । बुद्धत्व मस्तिष्कभन्दा परको स्थिति हो, मस्तिष्कको प्रयोगमा अहिलेसम्म रुमल्लिरहेको पश्चिमी सभ्यताले बुद्ध पुरुषहरुको यो देशमा अतिक्रमण गरिरहेको कटु यथार्थ दूर्भाग्यपूर्ण होइन र ? यो दोष कसको ? आफ्नो हिरा नचिन्ने, तर पराइको कोइला च्यापेर बस्ने कुबुद्धिबाट हामी कहिले मुक्त हुने ?