कुखुराको मासुको मूल्य घट्यो, तरकारीको मूल्य दोब्बरले बृद्धी

काठमाडौं। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनमा कुखुराको मासुले बजार नपाएर कुखुरा पालक किसानले जिउँदो कुखुरा खाल्डोमा हालेको तथा कम उत्पादन गर्न थालेका थिए । तर लकडाउनकै बीचमा जिउँदो कुखुराको बजारमा अभाव भएको भन्दै लकडाउनकै अवधिमा तीनपटक मूल्यबृद्धी भएको थियो। तर पछिल्लो तीन महिनापछि बजारमा जिउँदो कुखुरा सहजरुपमा पाउन थालेकाले कुखुराको मासुको मूल्य घट्न थालेको छ । शनिबारदेखि जिउँदो कुखुराको मूल्यमा १० रुपैयाँ र तयारी मासुको मूल्यमा १५ रुपैयाँका दरले घटाएको पोल्ट्री संघका अध्यक्ष जगबहादुर बिसीले बताए ।

उनका अनुसार बजारमा पछिल्लो केही दिनदेखि जिउँदो कुखुरा सहजरुपमा आयात हुन थालेकाले मासुको मूल्य घट्न थालेको छ । उनले भने, ‘अब क्रमिक रुपमा कुखुराको मासुको मुल्य घट्दै जाने र केही हप्तामै कुखुराको मासुको मूल्य घटेर प्रतिकेजी ३ सय रुपैयाँ आइपुग्छ।’ जिउँदो कुखुरा र मासुको मूल्य बढ्न थालेपछि कतिपय किसान र फर्महरुले चल्ला हाल्न थालेका थिए । यति बेला उक्त उत्पादन आउन थालेपछि मूल्य घटेको उनको भनाइ रहेको छ।

पछिल्लो समय पोल्ट्री संघले कुखुराको मासुको मूल्य ३ सय ९० रुपैंयाँ कायम गरेको थियो । लकडाउनमा कुखुरापालक किसान र पोल्ट्री संघहरुले उत्पादन कम गरेका कारण जिउँदो कुखुरा र मासुको मूल्य उच्च बृद्धी हुँदै गएको थियो । नयाँ उत्पादन आउन थालेपछि बजार पुरानो लयमा फर्कन थालेको बिसीले बताएका छन्।

गत महिना मासुको मूल्य एक सातामा २ पटकसम्म बढ्दै ३ सय ७५ सम्म पुगेको थियो । त्यसको केही दिनमै १५ रुपैयाँले बढेर ३ सय ९० रुपैयाँ कायम भए पनि बजारमा ४ सय २० रुपैयाँ सम्ममा बिक्री हुँदै आएको थियो । लकडाउनमा मासुको खपत घट्न थालेपछी जिउँदो कुखुराको मूल्य प्रतिकुखुरा १ सय ७० सम्म आइपुगेको थियो । तर उत्पादन कम हुँदै जाँदा जिउँदो कुखुराको मूल्य प्रतिकेजी २ सय ६० रुपैयाँ पुगेको थियो। अहिले जिउँदो कुखुराको मूल्य किसानको लागि २ सय ५० रुपैयाँ र उपभोक्ताको लागि २ सय ७० रुपैयाँ पर्ने पोल्ट्री संघले जानकारी दिएको छ।

चार महिनाको लकडाउन पश्चात अहिले उपत्यकाको जनजीवन सामान्य बन्दै गएको छ भने रेष्टुरेन्ट र होटलहरु पूर्णरुपमा सञ्चालनमा आउन थालेपछि मासुको खपत पनि बढ्न थालेको छ । यस्तो अवस्थामा बजारको माग धान्नका लागि पनि नयाँ उत्पादन आवश्यक भएको छ । तर साउन महिनामा कुखुराको मासुको खपत अन्य महिनामा भन्दा कम हुने गरेको संघले जनाएको छ।

त्यस्तै, बजारमा कुखुराको मासुको मूल्य सामान्य घटे तापनि हरियो तरकारीको मूल्य भने दोब्बरले बृद्धी भएको छ । पछिल्लो तीन सातादेखि मुलुकभर लगातार रुपमा परेको वर्षाका कारण उपत्यकामा तरकारी आयात कम भएकाले तरकारीको मूल्य दोब्बरले बृद्धी भएको छ।