भारतमा नियन्त्रणमा नआएसम्म नेपालमा कोरोना घट्दैन, ९० हजार संक्रमित हुन्छन्

काठमाडौ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले भारतमा कोरोना भाइरस संक्रमण नियन्त्रणमा नआएसम्म नेपालमा महामारी नघट्ने बताएका छन् । भारतमा दैनिक करिब एक लाख संख्यामा कोरोना संक्रमित बढ्दै गएकाले नेपालमा तत्काल नघट्ने उनको भनाइ छ।

परोपकारी प्रसुती तथा स्त्रीरोग अस्पतालको ६१ औँ बार्षिक उत्सव समारोहमा मंगलबार मन्त्री ढकालले विज्ञहरुले अहिले कोरोनाको उच्च जोखिम रहेकाले संक्रमितको दर बढ्ने बताएको उल्लेख गरे।

‘भारतमा दिनमा करिब एक लाख संक्रमित भइरहेका छन्। त्यसैले नेपालमा न्यूनिकरण गरेर आफ्नो काम बढाउनुपर्छ,’ उनले भने ।

नेपालमा अहिले कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको उनको भनाइ छ । ‘साउन २५ देखि भदौ २ गतेसम्म कोरोना उच्च जोखिमको अवस्था रहेको छ। यही अवस्थामा जोखिम कायम रहिरहे ९१ हजार पोजेटिभ देखिन्छन्। र, मध्यम खालको रहेका ३९ हजार पुग्छन् भन्ने हाम्रो अनुमान हो,’ मन्त्री ढकालले भने, ‘त्यसका लागि हामीले व्यवस्थापन गर्नुपर्छ नियन्त्रण गर्न लागिपरेका छौँ।’

सरकारले कोरोना नियन्त्रणमा सक्दो प्रयास गरिरहेको उनले बताए । जस्तोसुकै अवस्था सिर्जना भए पनि कोरोना संक्रमित बिरामीको उपचार जिम्मा सरकारले लिने मन्त्री ढकालले बताए।