
सिक्किम । भारतको सिक्किम राज्यको मुख्यमन्त्रीमा प्रेम सिंह तामाङ गोले मुख्यमन्त्री बनेका छन् ।उनले मुख्यमन्त्रीको सपथ ग्रहण गर्दैछन् । पवन चाम्लिङको २५ वर्ष लामो शासनलाई अन्त्य गर्दै तामाङ मुख्यमन्त्री बन्न लागेका हुन ।मुख्यमन्त्रीसँगै उनको सोमबार मन्त्रिपरिषद् पनि गठन गर्ने छन । उनको ११ सदस्यीय मन्त्रिपरिषदलाई सिक्किमका गभर्नरले मञ्जुरी दिइसकेका छन् ।भ्रष्टाचारी ठहर गरेका व्यक्ति मुख्यमन्त्री बनेकाले पूर्व मुख्यमन्त्री चाम्लिङले उनको सपथ ग्रहण समारोहमा उपस्थित नहुने बताइएको छ ।गत बिहीबार सार्व जनिक भएको मत परिणाममा गोले नेतृत्वको सिक्किम क्रान्तिकारी मोर्चाले ३२ सिटमध्ये १७ सिटमा विजय हासिल गरेपछि सिक्किममा चाम्लिङको सत्ता उल्टिएको थियो ।
चाम्लिङ नेतृत्वको सिक्किम डेमोक्रेटिक फ्रन्ट १५ सिटमा खुम्चिएको थियो ।सन् २०१४ मा भएको अघिल्लो विधानसभा चुनावमा गोलेको पार्टी १० सिट जितेको थियो भने चाम्लिङको पार्टीले २२ सिट जितेको थियो ।भारतको संविधानमा विधानसभा सदस्य नभएपनि मुख्यमन्त्री बन्न पाउने प्रावधान छ । त्यसै प्रावधान अन्तर्गत प्रेमसिंह मुख्यमन्त्री भएका हुन् ।यसरी ६ महिनासम्मका लागि मुख्यमन्त्री बन्न पाइन्छ । ६ महिनाभित्रमा विधानसभामा सदस्य नभए मुख्यमन्त्री पद जान्छ ।उनका समर्थकले पार्टीले जितेको कुनै एउटा विधानसभा सिट खाली गराएर निर्वाचन लड्ने बताएका छन् ।
चाम्लिङको सत्ता उल्टाइदिने गोलेको राजनीतिक यात्रा चाम्लिङसँगै सुरू भएको थियो ।चाम्लिङले सन् १९९३ मा सिक्किम डेमोक्रेटिक फ्रन्ट खोलेसँगै गोले शिक्षण पेसा छोडेर राजनीतिमा आएका हुन् ।त्यसपछि सन् १९९४ मा भएको निर्वाचनबाट गोले पहिलो पटक सांसद चुनिए ।सांसद चुनिएसँगै उनी चाम्लिङ् नेतृत्वमा बनेको सरकारमा गोले मन्त्री बने। उनी सन् १९९४ देखी सन् २००९ सम्म लगातार ३ पटक मन्त्री भए ।त्यसक्रममा उनले पशुपालन, उद्योग र भवन तथा आवास मन्त्रीको रूपमा काम गरे ।सन् २०१३ मा चाम्लिङको पार्टी छोडेर सिक्किम क्रान्तिकारी परिषद् गठन गरे ।त्यसपछि २०१६ मा गोलेलाई सरकारमा रहँदा भ्रष्टाचार गरेको भन्दै मुद्दा चलाइयो। सो मुद्दामा उनी झण्डै एक वर्ष जेल बसे ।