
काठमाडौं । अहिले देशमा अघोषित रुपमा युद्धको सुरुवात भएको जस्तो देखिएको छ । सरकारले विप्लव समुहबारे विशेष गरेर गृहमन्त्री राम बहादुर थापा बादलले सबै कुरा जानकारी भएर पनि कुनै ठोस कदम चाल्न नसकेको आरोप लगाइएको छ । अहिले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मन्त्रीको राजीनामा मागिरहेको छ ।
नेपाली कांग्रेस सांसद तथा युवा नेता गगनकुमार थापाले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को राजीनामा माग्नु भएको हो । प्रेस युनियनको २८ औं वर्षगाँठको अवसरमा नेता थापाले भन्नुभयो, ‘गृहमन्त्रीले सुरक्षा दिन खोज्नुभएको कि नागरिकलाई तर्साउन खोज्नुभएको ? नागरिकलाई सुरक्षा दिन नसकेकाले गृहमन्त्रीले राजीनामा दिनुपर्छ ।
हामीलाई सुरक्षा दिने गृहमन्त्री चाहिएको हो ।’ थापाले सरकारले अधिनायकवादतर्फ सोचले अगाडि बढ्दै गए काँग्रेसले तह लगाउने पनि बताउनुभयो । उहाँले राजा ज्ञानेन्द्रलाई तह लगाएको भन्दै अब राजा बन्न खोज्नेलाई रोक्ने तागत अहिले पनि नेपाली कांग्रेससँग भएको उल्लेख गर्नुभयो ।
आज प्रतिनिधिसभा बैठकमा गृहमन्त्रीले आइतबार काठमाडौंमा भएको बम विस्फोटबारे जानकारी दिँदै उपत्यकामा विप्लवको चार कम्पनी जनसेना रहेको बताउनु भएको थियो । उहाँले विप्लवले सैनिकसम्म तयार गरेको पनि उल्लेख गर्नुभएको छ ।