बिस्फोटमा मृत्यु भएका ५ कमाण्डरलाई विप्लवले यसरी दिए सम्मान (विज्ञप्तिसहित)

काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले जेठ १२ गते काठमाडौँमा भएको बम विस्फोटको घटनामा बलिदान गर्ने पार्टी, जनमुक्ति सेना र जवसका कमान्डरहरू महान, दीपेन्द्र, प्रज्वल शाही र निरन्तरका साथै भोजपुरमा बलिदान गर्ने तीर्थ घिमिरे ‘राजु’लाई सहिद घोषणा गरेको छ ।

पार्टी महासचिव विप्लवले सोमबार विज्ञप्ति प्रकाशित गर्दै पाँचै जनालाई सहिद घोषणा गरेका हुन् । विप्लवले काठमाडौँमा बम विस्फोटको घटनामा कसरी क्षति हुन पुग्यो, त्यसको सत्यतथ्य जनतामा ल्याउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

उनले यी सबै घटना हुनुको मुख्य दोषी केपी सरकारको फासिवादी दमन रहेको पनि स्पष्ट पारेका छन् । सहादत प्राप्त गर्नेहरूप्रति सिङ्गो पार्टीका तर्फबाट उनले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति समवेदना पनि व्यक्त गरेका छन् ।

महासचिव विप्लवले १३ गतेको नेपाल बन्द लगायत आमहडताल सफल पार्नेहरूप्रति धन्यवाद दिएका छन् ।

महासचिव विप्लवले विज्ञप्तिमा ‘कम्युनिस्टका नाममा केपी—पीके कम्पनीले नेपालमा फासिवादको अभ्यास गरिराखेको र यही क्रममा यो सामाजिक फासिवादी सरकारले नेकपा सम्बद्ध युवक सङ्गठनका नेता तीर्थराज घिमिरे ‘राजु’को गत जेठ ७ गते मङ्गलबार भोजपुर र खोटाङको सिमानामा पर्ने मैयुमको धोत्रेमा झूट्टो मुठभेटका नाममा निःशस्त्र अवस्थामा गिरफ्तार गरेर गोलीहानी हत्या गरेको’ स्मरण गराउँदै यसरी सरकारले गरेको हत्याको प्रतिरोध गर्नु एक क्रान्तिकारी पार्टीको अनिवार्य कर्तव्य हुन आउने प्रस्ट पारेका छन् । सोही प्रतिरोधको सिलसिलामा नेकपाले विभिन्न कार्यक्रमका साथै सोमबार आमहडतालसहित नेपाल बन्दको आयोजना गरेको थियो ।