आफ्ना यी खराब बानी हटाउनुभयो भने तपाइँ सफलताको बाटोतर्फ बढ्नुहुन्छ

यी खराब बानी आफ्ना हटाउनुभयो भने तपाइँ अवश्य सफलताको बाटोतर्फ बढ्नुहुन्छ

१. ‘ट्रेन्ड’ को पछाडी लाग्ने बानी:

हाम्रो समाजमा ‘ट्रेन्ड’ को पछाडी लाग्ने बानी छ, जसलाई हामीले सामान्य बोलीचालीको भाषामा ‘भेंडा बन्नु’ भन्ने गर्छौं । हामी अरुले जे लगायो, त्यही लगाउन चाहन्छौं । अरुले जुन विषय पढ्यो, आफू पनि त्यही विषयमा भर्ना हुन्छौं । अरुले जुन काम गर्छन्, त्यस्तै काम गर्न खोज्छौं । यो बानीले हाम्रो क्षमतालाई बाहिर निकाल्ने भन्दा बढी हाम्रो क्षमतालाई भित्र दबाइदिञ्छ । हामीले अरुजस्तै बन्ने होडमा आफ्नो परिचय गुमाउँछौं । त्यसैले ट्रेन्डको पछाडी नलागौं, आफ्नो क्षमतालाई चिनौं, आफूलाई बुझौँ ।

२. अरुलाई काम अह्राउने, परनिर्भर रहने बानी:

अरुलाई काम अह्राउने तथा परनिर्भर रहने बानीले गर्दा व्यक्तिले आफ्नो जिम्मेवारीलाई बुझ्दैन, उसमा जिम्मेवारी बहन गर्न सक्ने क्षमताको विकास हुँदैन । जब व्यक्ति जिम्मेवारीबाट टाढा रहन्छ, परनिर्भर हुन्छ, तब उसमा कामको अनुभव कम हुन्छ र निर्णय लिन सक्ने क्षमता पनि कमजोर हुन्छ । यसको साथै जीवनमा आउने अप्ठ्यारा परिस्थितिसंग एक्लै कसरि लड्ने भन्ने बारेमा पनि ऊ अनभिज्ञ रहन्छ । व्यक्ति आत्मनिर्भर बन्यो भने ऊ स्वतन्त्र हुन्छ, काम तथा निर्णय लिने बारेमा उसमा प्रशस्त अनुभवहरु हुन्छन् र ऊ बलियो बन्दै जान्छ । उसमा जीवनमा केही बन्ने दृढ इच्छाशक्ति जाग्छ ।

३. धेरै मोबाइल चलाउने बानी:

मोबाइलमा सामाजिक संजाल देखि खेलसम्म हुनेगर्छन् र अहिले मोबाइलमा धेरै व्यस्त रहने बानी बढेको छ । यसले गर्दा समयको सदुपयोग हुन सक्दैन । उत्पादनशील काममा खर्च हुने समय मोबाइलमा खर्च भइरहेको हुन्छ । त्यसैले मोबाइलको नोटिफिकेसनहरु बन्द गर्नुपर्छ । काम गर्दै गरेको समयमा, या पढ्दै गरेको समयमा मोबाइल साइलेन्ट मोडमा राख्नुपर्छ । सामाजिक संजालमा अनावश्यक कुरा पोस्ट गर्ने, पढ्ने भन्दा पनि बौद्धिक किसिमका लेख, पोस्टहरु पढ्न सकिन्छ । मनोरंजन तथा खेलको लागि केही मात्र निश्चित समय मोबाइलको लागि छुट्टाउन सकिन्छ ।

४. एकै पटकमा धेरै काम गर्ने बानी:

एउटा काम सकेपछि मात्र अरुको काम गर्नुपर्छ । अध्ययनहरुका अनुसार, एउटा काममा मान्छे लागेपछि त्यसमा केन्द्रित हुनको लागि कम्तिमा पनि पन्ध्र मिनेट लाग्छ । त्यसैले एकैपटकमा धेरै काम गर्न खोज्दा मानसिक थकान पनि बढ्छ भने समय झन् बढी बर्बाद भइरहेको हुन्छ ।

५. आफूलाई अरुसंग तुलना गर्ने बानी:

कहिल्यै पनि आफूलाई अरुसंग तुलना नगर्नुहोस् । यदि अगाडी बढेका व्यक्तिसंग आफ्नो तुलना गर्नुभयो भने तपाईंमा हीनताबोध बढ्छ र यदि आफूभन्दा पछि रहेको व्यक्तिसंग आफूलाई तुलना गर्नुभयो भने तपाईंमा अहमता बढ्छ । हीनताबोध र अहमता भनेका व्यक्तिको प्रगतिका बाधक हुन् । त्यस्तै, अरुले गर्न सक्ने काम तपाईंले गर्न नसक्नु साधारण कुरा हो, जसरि तपाईंले गर्न सक्ने कुनै काम अरुले गर्न सक्दैनन् । त्यसैले तपाईं जो हुनुहुन्छ, ठीक हुनुहुन्छ । हिजोको आफूसंग प्रतिस्पर्धा गर्दै अगाडी बढ्नुहोस् ।

६. सधै हुन्छ भन्ने बानी:

सधै हुन्छ भन्ने बानी घातक हो, तपाईं आफ्नै लागि । यो बानीले तपाईंले आफूलाई आफैले अप्ठ्यारोमा पार्नुहुन्छ । याद गर्नुहोस्, तपाईंले सधै सबैलाई खुशी पार्न सक्नुहुन्न । सबैलाई खुशी पार्न थाल्नुभयो भने तपाईंले आफ्नै आत्माको बलि चढाउनुपर्छ । तपाईंलाई गलत लाग्छ भने गलत भन्नुहोस्, तपाईंलाई त्यसमा रुचि छैन भने हुन्न भन्न सिक्नुहोस् । आफ्नो खुशीलाई, आफ्नो लक्ष्यलाई सधै आफ्नो प्राथमिकतामा राख्नुहोस् ।

सफल व्यक्ति र सामान्य व्यक्तिमा यस्ता ७ फरकहरु हुन्छन:

एउटा सामान्य व्यक्ति नै सफल र विशेष बन्ने हो । तर सबै सामान्य मानिसहरु सफल र विशेष बन्दैनन् । सामान्य रहिरहने र सफल हुने व्यक्तिमा केही फरकपनहरु हुन्छन् ।

सामान्य व्यक्ति आफूसंग जे छैन, त्यो कुराको चिन्ता गरेर बस्छ । उसको समय गुनासो गरेर नै बितिरहेको हुन्छ । सफल व्यक्तिले आफूसंग भएको कुरालाई स्रोतमा बदल्छ । उसले आफूमा आउने विचार, भावना, रिस सबैकुरालाई कामको स्रोत बनाउँछ ।

सामान्य व्यक्तिले आफूबाट भएका गल्तीको लागि पश्चताप गरेर बस्छ या त अरुलाई दोष दिएर हिडिरहेको हुन्छ । सफल हुने व्यक्तले आफूले गरेको गल्तीको जिम्मेवारी लिन्छ र आगामी दिनमा त्यस्तो गल्ती नगर्ने प्रण गरेर अगाडी बढ्छ । त्यो गल्ती उसको लागि सिकाई बन्छ ।

सामान्य व्यक्तिले अरुले के गरिरहेका छन् त्यो हेर्छ । उसले अरु मान्छेले जुन कामबाट जसरि पैसा कमायो या सफल भयो, त्यस्तै गर्न थाल्छ । सफल हुने व्यक्तिले अरुको ध्यान जुन काममा गएको छैन, जुन तरिकाले अरुले काम गरेका छैनन् , त्यो गर्न थाल्छ ।

सामान्य व्यक्तिले सफलतालाई नतिजासंग तुलना गर्छ । सफल हुने व्यक्तिले आफ्नो व्यक्तित्व विकास, आफ्नो सिकाइलाई सफलता मान्दै आफूलाई प्रेरित गर्छ र अगाडी बढिरहन्छ ।

सामान्य व्यक्तिले एउटा निश्चित बिन्दुलाई आफ्नो गन्तव्य बनाउँछ । त्यो बिन्दुमा पुगेपछि ऊ सन्तुष्ट भएर बस्छ । तर सफल हुने व्यक्ति कुनै एउटा बिन्दुमा पुगेपछि सन्तुष्ट भएर बस्दैन । ऊ एउटा गन्तव्यको नजिक भएपछि फेरी अर्को गन्तव्यमा पुग्ने बाटो पहिल्याउन तिर लाग्छ । उसको लागि सफलता भनेको निरन्तरको यात्रा हो ।

सामन्य व्यक्तिमा पनि सफल हुने व्यक्तिमा जस्तै क्षमता हुन्छ । तर उसले आफ्नो क्षमतामाथि विश्वास गर्दैन, अवसरलाई चिन्दैन र जोखिम देखि डराउँछ । सफल हुने व्यक्तिमा आत्मविश्वास हुन्छ । त्यही आत्मविश्वास र आफ्नो क्षमतालाई मिलाएर ऊ जोखिम उठाउन तयार हुन्छ ।