ला’गुऔषध प्रकरणमा लपेटिँदै बलिउड;दीपिका, श्रद्धा, सारा र रकुललाई ब्यूरोले बोलाइयो

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृ’त्यु प्रकरणमा ला’गुऔषधको कनेक्सन देखिएपछि नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले अनुसन्धानको दायरा बढाएको छ।

यसैबीच एनसीबीले बलिउडका चर्चित अभिनेत्रीहरुलाई सोधपुछका लागि बोलाएको छ। अभिनेत्री दीपिका पादुकोण, श्रद्धा कपूर, सारा अली खान र रकुलप्रीत सिंहमाथि एनसीबीले छानबीन गर्ने भएको हो। उनीहरु आगामी तीन दिनभित्र बयानका लागि उपस्थित हुनु पर्नेछ।

नायिका रकुलप्रीत सिंह, सिमान खंबाटा र सुशान्तकी पूर्व म्यानेजेर श्रुति मोदीलाई भोलि अर्थात सेप्टेम्बर २४ मा बोलाइएको छ। यस्तै दीपिकालाई सेप्टेम्बर २५ तथा श्रद्धा र सारालाई सेप्टेम्बर २६ मा सोधपुछको लागि बोलाइएको छ।

सुशान्तको मृ’त्यु प्रकरणमा लागुऔषधको कनेक्सन देखिएपछि बलिउडका कैयौँ चर्चित कलाकारहरु एनसीबीको अनुसन्धानको दायरामा तानिएका छन्। सुशान्त गत जुन १४ मा मुम्बईस्थित आफ्नो फ्ल्याटमा मृ’त अवस्थामा फेला परेका थिए।

एनसीबीले मंगलबार दीपिकाकी म्यानेजर करिश्मा प्रकाशसँग सोधपुछ गरेको थियो। अनुसन्धानका क्रममा एनसीबीले उनको ह्वाट्सएप म्यासेजमा दीपिकासँग लागुऔषधको बारेमा कुराकानी भएको खुलेको थियो। जसमा ‘डी’ र ‘के’ कोड नाममा लागुऔषधको बारेमा कुराकानी भएको थियो। ‘डी’ दीपिकाको कोड नाम भएको बताइएको छ।

यसअघि एनसीबीले लागुऔषध प्रकरणमा सुशान्तकी प्रेमिका भनिएकी रिया चक्रवर्तीलाई गत सेप्टेम्बर ९ मा पक्राउ गरेको थियो। उनीमाथि सुशान्तका लागि लागुऔषधको जुटाउन काम गरेको आरोप छ।

रियामाथिको एनसीबीको अनुसन्धानपछि बलिउडका कैयौँ स्टार कलाकारहरु लागुऔषधको प्रयोगमा संलग्न भएको खुलासा भएको छ। वयानका क्रममा रियाले बलिउडका कैयौँ व्यक्तिहरुको नाम लिएको बताइएको छ।

एनसीबीको अनुसन्धानका क्रममा रियाले सुशान्तका लागि आफूले लागुऔषधको व्यवस्था गरेको स्वीकार गरेको स्रोतलाई उल्लेख गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनले आफूले पनि लागुऔषधको प्रयोग गर्ने गरेको समेत स्वीकार गरेकी छन्।