दुबईबाट विश्वलाई आइपिएल देखाउँछन मजदुरी गर्न भारत गएका नेपालका हर्कबहादुर

  • सविता बुढा

धनगढी, सुदूरपश्चिमका हर्कबहादुर पार्की कैनी अहिले दुबईबाट विश्वलाई इन्डियन प्रिमियर लिग (आइपिएल) देखाउँदै छन्। डडेल्धुराको अमरगढी नगरपालिका–७ का कैनी युएईमा जारी आइपिएलको प्रत्यक्ष प्रसारण गर्ने ‘रियल इम्प्याक्ट’ को ब्रोडकास्ट फिडका भिजन इन्जिनियर हुन्।

उनी आइपिएलको पहिलो सिजनबाटै प्रत्यक्ष प्रसारण गर्ने काममा सहभागी हुँदै आएका छन्। सन् २००८ को पहिलो संस्करणदेखि अहिले जारी १३ औं संस्करणसम्म उनले आइपिएलको लाइभ ब्रोडकास्टको काममा सामान्य कर्मचारीदेखि इन्जिनियरसम्मको काम गरिसकेका छन्।

कोरोना महामारी नआएको भए यो वर्ष २९ मार्चमा आइपिएल हुने तालिका थियो। हर्कबहादुर आइपिएल मिति तोकिनुअगाडि १५ दिनको बिदामा मार्चको सुरूतिर घर आएका थिए। तर केही दिनमै कोरोना लकडाउन भयो। आउन-जान बन्द भयो। उता भारतमा आइपिएल पनि तोकिएको मितिमा हुने-नहुने अनिश्चित भयो। उनी ६ महिना नेपालमै बसे।

‘६ महिनामा केही दिन डडेल्धुरा, केही दिन धनगढी र अत्तरियामा पनि बसेँ,’ उनले भने। महामारीका कारण स्थगित आइपिएलका खेल सेप्टेम्बर १९ बाट सुरू हुने तालिका बन्यो। त्यहीअनुसार अफिसबाट उनलाई खबर प्राप्त भयो।

‘मैले डडेल्धुरामा कोरोना परीक्षण गराएर सेप्टेम्बर १ मा इन्डियाका लागि हिँडे,’ उनले भने। कञ्चनपुरको गड्डाचौकीमा उनलाई प्रहरीले कहाँ, किन जाने भनेर सोधेका थिए।

‘मैले परिचय दिएर काम पनि भनेपछि जान पाएँ,’ उनले भने।
उनीसँग बिसिसिआईको पत्र पनि थियो। टनकपुरमा उनका एक जना साथीले आफ्नो गाडीमा दिल्लीसम्म पुर्‍याइदिए। उनी सेप्टेम्बर २ मा दिल्ली पुगे।

‘त्यहाँ आफन्तको घरमा केही दिन बसेँ,’ उनले भने। त्यहाँ पनि कोरोना परीक्षण गरेर नेगेटिभ आएपछि उनी आफ्नो टिममा सहभागी भए। सेप्टेम्बर ७ मा उनी दुबई पुगेका हुन्।

हर्कबहादुर बि.स. २०३३ सालमा पहाडी ठाउँमा विपन्न परिवारमा जन्मेका हुन्। उनका बुबा भारत जानुभन्दा देशमै जे हुन्छ गरिखानु पर्छ भन्ने सोच राख्थे। परिवारमा उनका दुई भाइ र दुई बहिनी छन्। उनी जेठा हुन्।
२०५२ सालमा हर्कबहादुरले डडेल्धुरा, पोखराको उग्रतारा माध्यमिक विद्यालयबाट एसएलसी पास गरे।

‘एसएलसीपछि म पढ्न चाहन्थेँ तर त्यसो भएन,’ उनी सुनाउँछन्।
१९ वर्षको हुँदा बुबाले बिहे गरिदिए। बिहे गर्न पनि हर्कबहादुरको मन थिएन रे। बिहेको १५ दिनपछि उनका बुबाको मृत्यु भयो। घरपरिवारको जिम्मेवारी जेठो भएको नाताले हर्कबहादुरकै काँधमा आयो। ‘आफू पढ्न सकिएन, भाइबहिनीलाई पढाउनु पर्‍यो,’ उनले भने।
उनले दुई वर्षजति गाउँमै काम गरे।

‘आफ्नो र अरूको खेतीकिसानीको काम गरियो। खेतीबाट खान पनि पुग्थेन,’ उनी सम्झिन्छन्। विदेश जाँदै-नजाने सोच बनाएका उनी २०५४ सालमा बाध्य भएर दिल्ली गए। त्यहाँ उनका आफन्तहरू घरबाससहित पहिल्यैदेखि बस्थे। उनी त्यहीँ गए। ‘ठूलाबुबाहरूको ठेक्कापट्टाको कम्पनी थियो। त्यहीँ काम गरेँ। त्यो राम्ररी नचलेपछि फेरि घर फर्केँ,’ उनले भने।

एक वर्षजति घरमै केही गरौं भनेर लागे पनि सिप नचलेपछि उनी २०५५ सालतिर फेरि मुम्बई गए। मुम्बईमा चार महिनाजति त काम खोज्नै लाग्यो। त्यहाँ दिदीभिनाजुकहाँ बसेर काम खोजिरहेका थिए।

ठूलीआमाका छोरा बिआर फिल्म इन्डस्ट्रिजमा काम गर्थे। काम मिलाइदिन अनुरोध गरे। दाइले तत्काल मान्छे नचाहिएको सुनाए। त्यसपछि हर्कबहादुर एक होटलमा चिया बनाउने काम गर्न थाले। विभिन्न कार्यालयसम्म चिया पुर्‍याउन पनि जान्थे।

६ महिना यही काम गरेपछि फेरि तिनै फिल्ममा इन्स्ट्रिजमा काम गर्ने दाइलाई काम मिलाइदिन आग्रह गरे। उनले एक जनाको नाम र नम्बर दिए। त्यसपछि त्यही कम्पनीमा चिया बनाउने, सामान मिलाउने जस्ता काम पाए। ‘त्यहाँ मैले सामान चिन्ने र केही काम सिक्ने मौका पनि पाएँ,’ उनले भने।

त्यहाँ उनले बिना तलब ६ महिना काम गरेको उनी बताउँछन्। खानबस्न भने दिएको थियो। बाँकी ६ महिना केही तलब पाए। एक वर्षपछि उनले त्यो काम छाडे।

सन् २००२ तिर रुसन भिजन नामको संस्थामा उनी जोडिए। उनले त्यो संस्थामा ३ वर्ष काम गरे। त्यहाँ उनी टेक्निसियन थिए। कम्पनीले विभिन्न टिभीका लागि सिरियलहरू बनाउने काम गर्थ्यो।

‘म यसमा क्यामराका सरसामान मिलाउने, तिनमा समस्या आए हेर्ने काम गर्थेँ,’ उनले सुनाए। यसबेला उनलाई आउनजान दैनिक सय भारू भाडा, दिउँसोको खाना र मासिक ६ हजार भारू तलब मिल्थ्यो।

सन् २००५ तिर उनले ड्युरो ब्रोडकास्ट कम्पनीमा काम सुरू गरे। त्यहाँ ८-१० क्यामराले खिचेका भिडिओ ‘इन्पुट’ सहितका ‘मल्टिसेटअप’ मा काम हुन्थ्यो। यो संस्थाले ठूला कार्यक्रमहरू गर्थ्यो। उनले सन् २००७ सम्मै यहाँ काम गरे। त्यही वर्ष मुम्बईमा दिल्लीबाट रियल इम्प्याक्ट कम्पनी आयो। र उनी यसमा जोडिए।

रियल इम्प्याक्टले ‘बिग बोस’, ‘कौन बनेगा करोडपति’, ‘इन्डिया गट ट्यालेन्ट’, ‘इन्डियन आइडल’, ‘डान्स प्लस’ जस्ता चर्चित भारतीय कार्यक्रमहरू प्रोडक्सनमा गरिरहेको छ।

हर्कबहादुर यही संस्थामा जोडिएपछि उनी सिप र अनुभवका आधारमा कम्पनीका बी-फिड इन्जिनियर ब्रोडकास्ट टिममा परे। अर्को यमी फिड टीमले खेल खिच्थ्यो। हर्कबहादुर आवद्ध टीमले म्याचबाहेक स्टुडियोका, इन्टर्भलका बेला खिच्थ्यो।

सन् २००८ मा उनी मुख्य फिडमा सहभागी हुन पाएनन्। उनी दुई वर्ष यसैगरी काम गरेपछि सन् २०१० मा आइपिएल प्रशारण गर्ने समूहमा परे। यसै वर्षदेखि रियल इम्प्याक्टले अन्तराष्ट्रिय कार्यक्रमहरू प्रशारण गर्ने अनुमति पाइसकेको थियो।

उनी पनि बंगलादेश, श्रीलंका जस्ता देशमा हुने गतिविधको प्रत्यक्ष प्रसारण गर्न जान थाले। हर्कबहादुर तीन पटक विश्वकप क्रिकेट लाइभ गर्ने टिममा सहभागी भइसकेका छन्। यस्तै ब्याटमिन्टर, हकी, कबड्डी जस्ता खेलका पनि लाइभ उनले गर्छन्। टिममा निकै अनुभवी र नयाँ अरू सहकर्मी पनि उनीसँग हुन्छन्।

अहिले हर्कबहादुर भिजन इन्जिनियरका रूपमा दुबईबाट आइपिएलको १३ औं संस्करणको लाइभ गरिरहेका छन्। यस वर्ष उनले दुई म्याच लाइभ गरिसकेका छन् भने बिहीबारको खेल पनि प्रत्यक्ष प्रसारण गर्ने टिममा उनी छन्।

उनी कन्ट्रोल रूममा बस्छन्। क्यामराका इन्पुटहरूमा कलर, एक्सपोजर मिलाउने, ग्राफिक्स मिलाउने जस्ता काम पनि गर्छन्। अहिले उनका भाइ पनि यसै क्षेत्रमा काम गर्न थालेका छन्। उनी तामिल ‘बिग बोस’मा क्यामरा पर्सनको काम गर्छन्।

‘नेपालबाट पढाइ छोडेर, सामान्य काम गर्न भनेर मात्र भारत आउछौं तर अलि पढेर ठूला काम गर्ने धेरै अवसर पनि यहाँ छन्,’ उनले भने।
अहिले उनको कामको नेपालमा चर्चा हुन थालेको छ। घरखर्च चलाउन दिनभरी काम गरे साँझ खान समस्या पर्ने उनको अहिले मासिक एक लाख बढी नेपाली रुपैयाँ तलब छ।

‘पहिलेभन्दा निकै सफल भएजस्तो महशुस गर्छु तर अझै धेरै काम गर्न बाँकी छ,’ उनले भने। उनलाई आर्थिक स्थितिभन्दा पनि समाजमा चिनजान बढेको जस्तो लागेको छ।

अहिले उनी दुबईको ताज होटलमा बसिरहेका छन्। म्याच भएको दिन ५ घन्टाजति पहिल्यै नै कल टाइममा मैदान पुग्छन्। राती साढे ११ बजेतिर खेल सकिएपछि फेरि होटल फर्किन्छन्।

(धनगढी बाट सविता बुढाले सेतोपाटीका लागी तयार पारेको रिपोर्ट हामीले सेतोपाटी बाट साभार गरेका हौँ)