मत परिणाम नआउँदै मोदीलाई दिए प्रधानमन्त्री ओलीले बधाई !

भारतीय लोकसभा चुनाव २०१९ को मतगणना जारी छ । मतगणनाको सुरुवाति परिणामअनुसार भारतीय जनता पार्टी (बीजेपी) अगाडि देखिएको छ ।

सुरुवाति मतगणनामा बीजेपी नेतृत्वको राष्ट्रिय गणतान्त्रिक गठबन्धन (एनडीए) ३०० भन्दा बढी सिटमा अगाडि रहेको छ । बीजेपी एक्लै २८० भन्दा बढी सिटमा अगाडि रहेको छ । कांग्रेस नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धन (यूपीए) १०० आसपास सिटमा अगाडि रहेको छ भने अन्य दल १०० भन्दा बढी सिटमा अगाडि रहेका छन् । ५४३ सिट रहेको भारतीय लोकसभामा सरकार बनाउन २७२ सिट आवश्यक पर्छ ।

चुनावी मतपरिणामअनुसार बीजेपी एक्लैले पनि भारतमा नयाँ सरकार बनाउने देखिएको छ । साथै उ नेतृत्वको एनडीएको समेत मिलाउँदा झण्डै ३४० सिट पुग्न सक्ने देखिन्छ । तर यो नतिजा अन्तिम भने होइन । मतगणना भैरहेकाले केही सिट उलटफेर भने हुन सक्नेछ ।

प्रधानमन्त्री ओलीद्वारा बधाई !

प्रधानमन्त्री केपी शर्मा ओलीले भने पूर्ण नतिजा नआउँदै भारतीय प्रधानमन्त्रीलाई बधाई दिनुभएको छ । बिहीबार उहाँले ट्वीट गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिनु भएको छ ।

प्रधानमन्त्री ओलीले लेख्नु भएको छ, ‘लोकसभा चुनाव २०१९ मा प्रचण्ड जितका लागि प्रधानमन्त्री मोदीजीलाई बधाई दिन चाहन्छु । साथै उहाँको आउँदो कार्यकालको सफलताको कामना गर्दछु । तपाईँसँग सहकार्य गरेर अघि बढ्ने आशा राख्दछु ।’

भाजपा एक्लैले बहुमत प्राप्त गर्ने अनुमान

एक महिना लामो चुनावी सरगर्मीपछि भारतमा बिहीबार सुरु भएको मतगणनामा सत्तारुढ भारतीय जनता पार्टी एक्लै बहुमत नजिक पुगेको छ ।

बिहीबार विहान स्थानीय समयअनुसार ८ बजेदेखि सुरु भएको मतगणनामा प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी नेतृत्वको नेशनल डेमोक्रेटिक एलायन्सले ५ सय ४३ मध्ये ३ सय ४२ सिटमा अग्रता लिएको छ ।

जसमा भारतीय जनता पार्टी (बीजेपी) २ सय ९० भन्दा बढी सिटमा अग्रता लिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । यसअघि सन् २०१४ को निर्वाचनमा बीजेपीले २ सय ८२ सिटमा जित हासिल गरेको थियो । बहुमतका लागि २ सय ७२ सिटमा जित हासिल गर्नुपर्छ ।

अहिलेको निर्वाचन परिणामले भारतमा बीजेपीको लोकप्रियता नघटेको देखाएको छ । त्यसको विपरीत बरु मतगणनाको प्रारम्भिक नतिजाले सत्तारुढ गठबन्धन अघिल्लो निर्वाचन भन्दा बढी सिट जित्नेतर्फ उन्मुख देखिएको छ ।

भारतको गुजरात र राजस्थान राज्यका सबैजसो सिटमा बीजेपीले अग्रता लिएको छ । त्यस्तै पश्चिम बंगाल र ओडिसामा पनि भाजपाले धेरै सिटमा अग्रता लिएको छ । गुजरातका सबै २६ सिटमा बीजेपीले अग्रता लिएको छ ।

बीजेपीले उत्तर प्रदेशमा ५६ सिटमा अग्रता हासिल गरेको छ । त्यसपछि बहुजन समाजवादी पार्टीले १२, समाजवादी पार्टीले ८ र कांग्रेसले १ सिटमा अग्रता लिएको छ । त्यस्तै बिहारमा बीजेपीले १६, जनता दल युनाइटेडले १६ स्थानमा अग्रता लिएको छ । बीजेपीले पश्चिम बंगलालमा १७, महाराष्ट्रमा २३, राजस्थानमा २४ र मध्य प्रदेशमा २८ स्थानमा अग्रता लिएको छ ।