‘अस्पताल र आइसोलेसन सेन्टरहरु भरिए, हामी धेरै अफ्ठ्यारो परिस्थितिमा पुग्दैछौं ‘ – सरकार

काठमाडौं । सरकारले कोरोना संक्रमणको दर बढ्दै जाँदा अफ्ठ्यारो परिस्थिति आएको बताएको छ । डिस्चार्ज हुनेभन्दा भर्ना हुने क्रम बढ्दै जाँदा निकै कठिन अवस्था आएको बताएको सरकारको भनाइ छ ।

“हाम्रो लागि धेरै अफ्ठ्यारो समय आएको छ । संक्रमितको संख्या धेरै बढेको छ । अस्पताल र आइसोलेसन सेन्टरहरु भरिएका छन् । खचाखच बिरामी छन्,” नियमित प्रेस ब्रिफिङका क्रममा शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेवर गौतमले भने, “उहाँहरुको डिस्चार्ज हुने दर घटेको छ र बिरामी हुने दर बढेको छ ।

यसले हामीलाई धेरै अफ्ठ्यारो परिस्थितिमा पुर्याउँदैछ भन्ने आंकलन गर्न सकिन्छ । यसकारण सबै सुरक्षित रहौं ।”
पछिल्लो २४ घण्टामा ५ हजार ८ कोरोना संक्रमित थपिएका छन् । हाल नेपालमा ३० हजार ८१८ सक्रिय संक्रमितको संख्या रहेको छ । कुल संक्रमितको संख्या १ लाख ५ हजार ६८४ पुगेको छ ।