नोबेल अस्पतालले अब गाउँ–गाउँमा पुगेर स्वाब संकलन गर्ने

काठमाडौं : विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले कोरोना परीक्षणका लागि गाउँ–गाउँमा पुगेर स्वाब संकलन गर्ने भएको छ।

अस्पतालमा आउनेहरुको मात्र स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दै आएको नोबेलले अब सरकारी मापदण्ड अपनाउँदै गाउँ-गाउँमा पुगेर पनि स्वाब लिने व्यवस्था मिलाउने अस्पतालले जनाएको छ। अस्पतालमा धेरै मान्छे भेला भएर स्वाब दिँदा संक्रमण फैलने सम्भावना बढी भएकाले आवश्यकता अनुसार ठाउँ–ठाउँमा पुगेर स्वाब संकलन गर्ने व्यवस्था मिलाएको नोबेल अस्पतालका निर्देशक डा.राजेश नेपालले  बताए।

‘हामीले स्वाब संकलनका लागि विशेषज्ञको बेग्लै टिमसहितको गाडी परिचालन गरेका छौ,’उनले भने,’ अस्पताल निर्देशक डा.नेपालले भने–‘आवश्यकता र माग अनुसार गाउँ घर अथवा कार्यालयमै पुगेर स्वाब लिने व्यवस्था मिलाएका छौ ।’ पालिका तथा वडाका जनप्रतिनिधिहरुले घुम्ती स्वाब संकलनका लागि आग्रह गरेकाले पनि यस्तो सुविधा उपलब्ध गराएको उनले प्रस्ट पारे।

अस्पतालले घुम्ती स्वाब संकलनको समन्वय र व्यवस्थापनका लागि अस्पताल प्रबन्धक नारायण दाहाललाई जिम्मेवारी तोकेको छ। गाउँ–गाउँमा पुगेर स्वाब संकलन गर्दा अतिरिक्त शुल्क नलाग्ने अस्पतालले उनको भनाइ छ।