सञ्चार मन्त्रालयले भन्यो; ‘कात्तिक ७ देखि विदेशी च्यानल विज्ञापनरहित नबनाए कारबाही हुन्छ’

काठमाडौं–आगामी कात्तिक ७ गतेदेखि नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरुले विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ।

तोकिएको समयमा विदेशी च्यानलहरु विज्ञापनरहित नभएमा प्रचलित कानुन बमोजिम कारबाहीसमेत हुने मन्त्रालयले स्पष्ट पारेको छ। विदेशी च्यानलसँग डाउनलिंक गरी प्रसारण गर्न सम्झौता गरिसकेका संस्थाहरुले ऐन प्रारम्भ भएको मितिले एक वर्षभित्र अर्थात् २०७७ कात्तिक ७ गतेभित्र क्लिन फिड प्रसारण गर्नुपर्ने स्पष्ट कानुनी व्यवस्था भए पनि समय थप गरिपाउँ भन्दै मन्त्रालयमा विभिन्न संघसंस्थाबाट पत्र प्राप्त भइरहेकाले त्यसप्रति मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ।

इन्डियन ब्रोडकास्ट फोरम, डिस्कभरी नेटवर्क, बिबिसी न्युज, नेपाल केबल टेलिभिजन महासंघलगायतले क्लिन फिड प्रसारणको म्याद थप गरिपाउँ भन्दै पत्राचार गरेको प्रति ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको हो। ऐनको मर्म र भावनाअनुरुप तोकिएको अवधिदेखि क्लिन फिड प्रसारण लागू गर्न समेत मन्त्रालयले आग्रह गरेको छ ।