पाकिस्तानी रुपैयाँ एसियाकै सबैभन्दा कमजोर, एक डलर बराबर १५१ रुपैयाँसम्म विक्री

प्रतिष्ठित आर्थिक समाचार पोर्टल ब्लूमबर्गले पाकिस्तानी रुपैयाँ एसियाकै सबैभन्दा कमजोर मुद्रा बन्न पुगेको जनाएको छ।

अघिल्लो वर्ष पाकिस्तानी रुपैयाँमा २० प्रतिशत भन्दा बढि गिरावट आएका कारण यो एसियाका १३ मुद्राहरुमध्ये सबैभन्दा कमजोर मुद्रा बन्न पुगेको हो।

पाकिस्तानी पत्रिका जंगमा प्रकाशित एउटा समाचार अनुसार मे महिनामा मात्र पाकिस्तानी रुपैयाँमा २९ प्रतिशत गिरावट आएको हो।

पाकिस्तानको तुलनामा अफगानिस्तान, बाङ्लाग्लादेश, र नेपालका मुद्राहरु स्थिर रहेका छन्।

विनिमय दर
एक डलर बराबर अफगानिस्तानको मुद्रा ७९, भारतीय रुपैयाँ ७०, बाङ्ग्लादेशको टाका ८४ र नेपाली रुपैयाँ ११२ रहेका छन्।

यसैबीच बिहिवार पाकिस्तानको शेयर बजारमा पनि धेरै उथलपुथल देखियो।

शुक्रवार पाकिस्तानी रुपैयाँमा भएको अवमूल्यनका कारण शेयर बजार ८०० अङ्कमा अड्कियो जुन पछिल्लो डेढ वर्षमा शेयर बजारमा आएको गिरावटमध्ये सबैभन्दा धेरै हो।

व्यापक उथल-पुथलका कारण अन्तर ब्याङ्क बजारमा हल्ला फैलियो जसका कारण डलरको तुलनामा पाकिस्तानी रुपैयाँ १४९ सम्म ओरालो लाग्यो।

डलर बलियो

एक्सचेन्ज कम्पनिज एसोशिएसन अफ पाकिस्तानका अनुसार खुला बजारमा एक डलर बराबर १५१ रुपैयाँसम्म पुगेको थियो।

दुई दिनमै पाकिस्तानी रुपैयाँ पाँच प्रतिशतले अवमूल्यन भएका कारण यसले बजारमा हलचल मचाएको छ।

यो साताको शेयर बजार पछिल्लो १७ वर्षकै सबैभन्दा खराब रहेको पुष्टि भएको छ।

अर्को पाकिस्तानी दैनिक ‘डन’ पत्रिकाका अनुसार बजारमा उथलपुथल आइरहेकै बेला प्रधानमन्त्री इमरान खानका वित्तीय मामिला सल्लाहकार हाफिज शेख व्यवसायीहरुसँग भेट्न बिहीवार कराँची पुगेका थिए।

नियन्त्रणका उपाय
व्यवसायीहरुले अहिले भइरहेको उथलपुथललाई नियन्त्रण गर्नका लागि एउटा ‘मार्केट सपोर्ट फण्ड’ अर्थात बजारलाई सहयोग गर्ने एउटा कोष स्थापना गर्न ती सल्लाहाकारसँग आग्रह गरेका छन्।

हाल बजारमा देखिएको अस्थिरताले सन् २००८को सम्झना अझ ताजा बनाइदिएको छ।

स्थानीय मिडियामा आएका खबर अनुसार शेलले नेशनल इन्भेस्टमेन्ट ट्रस्टलाई २० अर्ब रुपैयाँ दिने कुरा गरेको ती व्यवसायीहरूले बताएका छन्।

तर यो दावी अडकलबाजीको भरमा आएको थियो। एक जना व्यवसायीका अनुसार, “शेयर बजारको अवस्थालाई ध्यान दिँदै एउटा कोष बनाउने सुझाव दिइएको छ र त्यसबारे विचार हुन सक्छ।”

दोहोरो समस्या
उक्त भेट लगत्तै वित्तीय सल्लाहाकार शेख र व्यवसायीहरू स्टेट ब्याङ्काका नयाँ गभर्नर रजा बकीरसँग भेटवार्ता गर्न गएका थिए।

डन अखबारले यी दुईबीच भेट भएको पुष्टि गरेको छ।

केही व्यवसायीहरुका अनुसार उक्त भेटमा सहयोग गर्न कोष खडा गर्ने, विनिमय दर र ब्याजदर जस्ता विषय बारे छलफल भएको समाचार प्रकाशित भएको छ।

स्टेट ब्याङ्कले सोमवार मौद्रिक नीति सार्वजनिक गर्ने जनाएको छ।

पछिल्लो अवस्थाका कारण, बजार, ब्याजदर बढ्दे सम्भावना र लगातार ओरालो लागिरहेको रुपैयाँ जस्ता दोहोरो समस्याको सामाना गर्नुपर्ने चुनौती देखिएको छ।

रोकिन पर्छ
मौद्रक नीति मेको अन्त्यमा सार्वजनिक हुन लागेको थियो तर यसको मिति करिब १० दिन अघि सारिएको छ तर त्यसोगर्नुको कारण बताइएको छैन।

अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले पाकिस्तानलाई हालको आर्थिक अवस्थाबाट बाहिर ल्याउन सहयोग गर्ने विषयमा यी दुई पक्षबीच सम्झौता वार्ता शुरु भएसँगै डलरको तुलनामा पाकिस्तानी रुपैयाँ कमजोर हुँदै गएको हो।

मुद्रा विशेषज्ञ र व्यवसायीहरुका अनुसार अहिले भइरहेको मुद्रा अवमूल्यन छिटै हुन लागेको ६ अर्ब डलरमा हुने भनिएको अन्तिम सहमतिको एउटा हिस्सा हो।

आरिफ हबिब रिसर्चका निर्देशक सैमुल्लाह तारिक भन्छन्, “अब यो रोकिन पर्छ। दिनहुँ भइरहेको रुपैयाँको अवमूल्यन र भविष्यमा पनि (पाकिस्तानी रुपैयाँ)अझै ओरालो लाग्न सक्ने खबरले बजारको भरोसा धरमरमा परेको छ जसका कारण धेरै नोक्सान भएको छ।”

आयातमा असर
उनका अनुसार अहिलेको अवस्थाका कारण गाडी, सिमेन्ट र औषधी जस्ता पाकिस्तानी उद्योगका कच्चा पदार्थ आयात गर्ने खर्च बढ्नेछ र यसको मार उपभोक्तामा नै पर्नेछ।

यी उद्योगको लागत खर्च बढ्दाको असर अर्थव्यवस्था र आम्दानी दुवैमा पर्ने छ।

केही जानकार अझै पाकिस्तानी रुपैयाँको अवमूल्यन हुन सक्ने बताउँछन् तर यसलाई लम्ब्याउनु भन्दा पनि एकै पटकमा सल्ट्याउन राम्रो हुने उनीहरुको भनाइ छ।

अवमूल्यन एकैपटक
डनलाई एक वरिष्ठ ब्याङ्करले भनेका छन्, एक महिनासम्म डलरको भाउ १४१ रुपैयाँ रहेको थियो जसले उनका अनुसार स्थिरताको सङ्केत दिएको थियो।

तर पछिल्ला दिनमा भएका बैठकले आयातकर्ताहरूको भरोसालाई कमजोर पारिदिएको छ।

उनले भने, “जस्तो सुकै सम्झौता भएपनि यसलाई छिटै बाहिर ल्याउनु पर्छ र वर्षभरी हुने अवमूल्यन एकैपटक गरिदिनुपर्छ।”