सरकारी अस्पतालमा भोलिबाट कोरोनाको निःशुल्क उपचार

सरकारले कात्तिक २४ गते कोरोनाको निःशुल्क परीक्षण र उपचार गर्ने निर्णय गरे पनि भोलि शुक्रबारदेखि मात्रै सरकारी अस्पतालमा लागु हुने भएको छ ।

सरकारले बिहीबार निःशुल्क उपचार र परीक्षणका लागि परिपत्र गरेपछि भोलिबाट यो निर्णय कार्यान्वयन हुने भएको हो।

सबै सरकारी अस्पतालमा २६ गते नै पत्र पठाइएको र पत्रअनुसार निःशुल्क परीक्षण गर्न निर्देशन दिइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नेपाल समयलाई जानकारी दिए ।

उनका अनुसार अब लक्षण देखिएका सबै व्यक्तिको निःशुल्क कोरोना परीक्षण गरिनेछ भने सरकारी अस्पताल भर्ना भएका सबैको निःशुल्क उपचार गरिनेछ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले भोलिबाट निःशुल्क उपचार गर्ने जनाएको छ। अस्पतालले आज एक सूचना जारी गर्दै २७ गते स्वास्थ्य मन्त्रालयबाट पत्र प्राप्त गरेको र भोलिबाट भर्ना भएका बिरामीको निःशुल्क कोरोनाका उपचार गर्न लागिएको जनाएको हो।

टेकु अस्पतालले निःशुल्क परीक्षणका लागि भने ज्वरो आएको हुनुपर्ने सर्त राखेको छ। स्वास्थ्यकर्मीले ज्वरो परीक्षण गर्दा १०० डिग्री फरेनहाइट वा सो भन्दा बढी भए मात्रै निःशुल्क परीक्षण गर्ने टेकु अस्पतालले जनाएको छ।

ज्वरो नआएका व्यक्तिले कोरोनाका परीक्षण गर्नुपरे २ हजार रुपैयाँ तिर्नुपर्ने सूचनामा उल्लेख छ। कन्ट्याक ट्रेसिङमा परेका तर ज्वरो नआएका व्यक्तिहरूका हकमा के गर्ने भन्ने सूचनामा खुलाइएको छैन।

सक्षम र इच्छुकले परीक्षण र उपचारमा सहयोग गर्न पनि टेकु अस्पतालले अपिल गरेको छ।