खानेपानी मन्त्री बिना मगरका पूर्वपतिले छोडे विप्लवको साथ

काठमाडौं। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता शंकर अधिकारीले जिल्ला प्रशासन कार्यालय ललितपुरमा आत्मसमर्पण गरेका छन् । अधिकारी नेकपाका रौतहट जिल्‍ला इञ्चार्ज हुन् ।

उनले आइतबार जिल्ला प्रशासन कार्यालय ललितपुरमा आत्मसमर्पण गरेका हुन् । ललितपुरको नख्खुमा एनसेलको मुख्यालय अगाडि भएको बम काण्डमा संलग्न भएको आरोपमा पक्राउ परेका ३ जनाले नै विप्लव नेकपा परित्याग गरेका छन् । उनीहरुले आफू सामान्य नागरिक भएर जिउने बताएका छन् ।

‘उहाँहरुले आइतबार आफैं आएर आत्मसमर्पण गर्नुभयो’, ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले बताए। अधिकारीसँगै देवराज घिमिरे र सन्दीप कार्कीले पनि आत्मसर्पण गरेका छन् ।

उनी गत शुक्रबार मात्र संगठित अपराध मुद्दामा धरौटीमा छुटेका थिए । ललितपुर जिल्ला अदालतको आदेशमा उनी धरौटीमा रिहा भएका थिए । धरौटीमा छुटेलगत्तै अर्को मुद्दामा उनले आत्मसमर्पण गरेका हुन् ।

प्रहरीले चैत ९ गते काभ्रेपलाञ्चोकमा घेरा हालेर नेता हेमन्तप्रकाश ओलीसहित आठ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमध्येका एक अधिकारी थिए । अधिकारी बाहलवाला खानेपानी मन्त्री बिना मगरका पूर्वपति हुन् ।