
काठमाडौ। काठमाडौंको कागेश्वरी मनहरा नगरापलिका वडा नं.१ स्थित गागलफेदि गाउँमा विद्युत् ट्रान्सफरमरमा परेर एक चितुवाको मृत्यु भएको छ। वन्यजन्तु संरक्षणको क्षेत्रमा काम गर्नेहरु यो घटना अनौठो र नौलो भएको बताउँछन्। यो समाचार नेपाल खबर डट कममा लेखिएको छ ।
‘बिजुलीको ट्रान्सफरमरले करेन्ट लागेर बिग क्याट प्रजातिको जनावर मृत्यु भएको घटना नेपालको हकमा एकदमै अनौठो हो’, जिल्ला वन कार्यालय काठमाडौंका सहायक वन अधिकृत अरुणकुमार गुप्ताले नेपालखबरसँग भने, ‘मैले आजसम्म यस्तो प्रकृतिको घटना देखेको, सुनेको थिइनँ। यो नेपालमै पहिलो पटक भएको हुनुपर्छ।’
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन)ले लोपोन्मुख जनावरको सूचीमा राखेको चितुवा होचो ठाउँमा ट्रान्सफरमर राखिएका कारण दुर्घटनामा परेको संरक्षण अधिकारीहरुको अनुमान छ।करिब एक वर्ष उमेरको चितुवा पोथी हो। उसको लम्बाइ साढे ५ फिट थियो।
कसरी मर्यो चितुवा?
जिल्ला वन कार्यालय काठमाडौंका सूचना अधिकृत अनिल रेग्मीका अनुसार स्थानीय र प्रहरीले मंगलबार बिहानै चितुवा ट्रान्सफरमा अड्किएको सूचना दिएका थिए। लगत्तै जिल्ला वन कार्यालय काठमाडौंका सहायक वन अधिकृत अरुणकुमार गुप्ताको नेतृत्वमा एक वनको टोली घटनास्थल पुगेको थियो। जीवित उद्धारको सम्भावनालाई ध्यानमा राख्दै टोलीले सो क्षेत्रमा बिद्युत् आपूर्ति बन्द गराएको थियो।
‘हामी पुग्दा चितुवा ट्रान्सफरमरमा झुन्डिएको अवस्थामा थियो। जीवितै छ कि भनेर विद्युत् आपूर्ति अफ गर्न लगायौं अनि सावधानीपूर्वक निकाल्यौं’, गुप्ताले नेपालखबरसँग भने, ‘शरीरमा कहीँ कतै चोट पटक लागेको छ कि भनेर हेर्दा केही देखिएन। करेन्ट लगाेर मृत्यु भएको हुनुपर्छ। ट्रान्सफरमर होचो ठाउँमा राखेका कारण उसले ज्यान गुमाएको देखिन्छ। यो अनौठो भयो।’
तलबाट माटो उठाइएका कारण ट्रान्सफरमर राखेको ठाउँ भुइँको सतहसँगै छ। नजिकै चराका गुडहरु छन्। आवाज सुनेर खानाको खोजीमा माथि चढ्दा दुर्घटनामा परेको हुनसक्ने उनले बताए।
स्थानीयका अनुसार सो क्षेत्रमा दुई-चार दिनदेखि चितुवा देखिएको थियो। शिवपुरी राष्ट्रिय निकुञ्जबाट निस्केको चितुवा गागलफेदि आइपुगेको अनुमान संरक्षणकर्मीको छ। दुर्घटना भएको ठाउँ नजिकै ईश्वरी महिला र कल्पवृक्ष सामुदायिक वन रहेका छन्। मृत चितुवा वन कार्यालयको टोलीले मुचुल्का तयारपारी गोकर्ण जंगलमा गाडेको छ ।