यसपालि यस्तो पहिरनमा सजिए बेहुलाहरू, कसरी आयो यो ट्रेन्ड?

कुनै समय थियो, बिहेमा धेरैजसो बेहुला सुटमा ठाँटिन्थे। कोट-प्यान्ट र टाइले नेपाली बेहुलाहरूलाई धेरै वर्ष चिरिच्याट्ट पार्‍यो। अनि चलन आयो ढाका दौरा-सुरूवालमा सजिने। ढाकाकै टोपी, ढाकाकै चप्पल। दौरा-सुरुवालमाथि कम्मरमा कसैले सेतो त कसैले मखमली पटुका बेर्ने।

नेपालीपन देखिने ढाकाको यो पहिरन हराइसकेको त छैन, तर बिस्तारै यसलाई अर्को डिजाइनले उछिन्दै गरेको देखिँदैछ।

यो वर्ष मंसिरपछि लगन छैन। त्यसैले धेरैले यही महिनामा विवाह गरे। आफ्ना साथीभाइको बिहेमा याद गर्नु भयो कि भएन, बेहुलाको लुगामा नयाँ ट्रेन्ड?

प्रायः बेहुलाहरू सेतो वा घ्यू रङको दौरा सुरूवालमा देखिए। अलि धमिला बुट्टा भएका ब्रोकेड कपडाको कुनै कुनै डिजाइनमा दौरामा भेलभेटको रातो किनार पनि हुन्छ। त्यो भेलभेटमा सुनौला जरीका बुट्टा पनि।

यो लुगाको सेटमा सल र टोपी पनि हुन्छ- रातो भेलभेटको वा ब्रोकेडकै। कतिपय बेहुलाले जुत्ता समेत भेलभेट वा ब्रोकेडकै लगाए। सामाजिक सञ्जाल वा साथीभाइको बिहेमा देखेको यो पहिरनको बजार पनि साँच्चै बढेको हो कि होइन भन्नेबारे हामीले केही कपडा व्यवसायीसँग सोधेका छौं।

बांगेमुढास्थित राष्ट्रिय दौरा सुरुवाल टेलर्सका सञ्चालक दिनेश शाक्यले यसको पुष्टि गरे। ‘अहिले ब्रोकेड र भेलभेट दौरा सुरुवालकै अर्डर बढी लियौं,’ दिनेशले भने, ‘ग्राहकहरू आफैंले डिजाइन दिनुहुन्छ। धेरैले भारतीय संस्कृतिबाट प्रभावित लुगा डिजाइन बनाउन खोज्नुहुन्छ।’

दिनेश राष्ट्रिय दौरा सुरुवाल टेलर्स सम्हाल्ने चौथो पुस्ता हुन्। यसअघि व्यवसाय उनका बुवा हिराबहादुर शाक्यले सम्हाल्थे। ‘कसैले सल्लाह माग्दा त हामी ढाकाकै कपडा सिलाउन भन्छौं। तर ग्राहकको रोजाइमा ढाका पर्न छाड्यो क्यार। एकै खालको कपडाभन्दा ट्रेन्डमा भएको कपडा लगाऔं भन्ने हुन्छ होला। एकचोटि गर्ने विवाहमा अरूभन्दा भिन्नै देखिऊँ भन्ने पनि लाग्दो हो। यसपालिको चलन ब्रोकेडको छ,’ दिनेशले ठट्यौली पारामा भने।

ढाकाको तुलनामा ब्रोकेडको कपडा सिलाउन महँगो पर्छ। ढाकाको बेहुला कपडा सेट ३ देखि ५ हजार रूपैयाँसम्म तयार हुन्छ। तर ब्रोकेडको सिलाउँदा १० देखि १५ हजारसम्म लाग्ने दिनेश बताउँछन्। ब्रोकेड कपडा ढाकाको तुलनामा नाजुक हुने भएकाले सिलाइमा धेरै मिहिनेत पनि लाग्छ।

यसपालिका बेहुलाहरूले लुगा सेटसँगै भेलभेट वा ब्रोकेडकै सल पनि हातमा सजाएको देखियो। यो नेपाली चलन भने होइन। भारतीय चलनअनुसार सेरवानीमा ओढिने सल शरीर पछाडिबाट हातमा बेरेर लगाइने व्यवसायीहरू बताउँछन्।

तीन वर्षअघि भारतीय ‍क्रिकेट टिमका कप्तान विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्माले बिहेमा यस्तैखाले ब्रोकेडका कपडा लगाएका थिए। विराटले लगाएको ब्रोकेडको सेरवानी फेसन पारखीहरूले निकै रूचाएका थिए।हामीकहाँ पनि पछिल्ला एकाध वर्षमा ब्रोकेड रूचाइनु त्यहीँबाट प्रभावित हुनसक्ने डिजाइनर तरूनिका महतो बताउँछिन्।

तरूनिकाका अनुसार फेसन र ट्रेन्डमा नाम चलेका कलाकारको मुख्य भूमिका हुन्छ। ठूला अभिनेता/अभिनेत्रीले लगाएको डिजाइनबाट प्रभावित दर्शकहरू आफ्ना लागि त्यस्तै कपडा सिलाउन हौसिन्छन्।

‘नेपाली बजारमा त झन् सबभन्दा बढी प्रभाव भारतकै पर्छ। त्यहाँ कलाकारले लगाएको डिजाइनको लुगा यहाँ रुचाउनु हुन्छ,’ तरुनिका आफ्नो वर्षौंको फेसन डिजाइनिङ अनुभवमा भन्छिन्, ‘सायद यसपालि धेरैजसो विराट कोहलीकै विवाहको कपडाबाट प्रभावित हुनुभयो।’

विराट र अनुष्काको बिहेका फोटा त्यसबेला निकै चर्चाको विषय समेत बनेका थिए। यसपछि नेपालकै एक चर्चित बिहेमा पनि बेहुलाले यस्तै लुगा लगाएको देखियो- अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको बिहेमा। पोहोर साल उनीहरूले नेपालीसँगै भारतीय संस्कृति पनि अपनाउँदै बिहे गरेका थिए। प्रियंकाकी आमा भारतीय संस्कारबाट प्रभावित भएकाले पनि उनीहरूका लागि यो स्वाभाविक थियो। बिहेमा आयुष्मानले ब्रोकेडको सेट लगाएका थिए।