
काठमाडौ। नेपाली काङ्ग्रेसका नेता एवम् पूर्वमन्त्री लक्ष्मणप्रसाद घिमिरेले संविधानसभाका सदस्यहरूलाई राष्ट्रपतिबाट प्रदान गर्ने भनिएको पदक तथा कदरपत्र ग्रहण नगर्ने हुनुभएको छ ।
नेता घिमिरे संविधानसभामा नेपाली काङ्ग्रेसका तर्फबाट प्रमुख सचेतकको जिम्मेवारीमा हुनुहुन्थ्यो । उहाँलाई गृह मन्त्रालयबाट पत्र पठाएर जेठ १६ गते राष्ट्रपतिनिवासमा उपस्थित भई पदक तथा कदरपत्र ग्रहण गर्न अनुरोध गरिएको थियो।
त्यसरी गृह मन्त्रालयको पत्र प्राप्त भएलगत्तै घटना र विचारसँग कुराकानी गर्दै नेता घिमिरेले आफू पदक र प्रमाणपत्र लिन इच्छुक नरहेको जानकारी दिनुभयो । उहाँको भनाइ छ, ‘पार्टीको एक जिम्मेवार कार्यकर्ताका रूपमा संविधानसभामा रहेर मैले जे भूमिका निर्वाह गर्नु थियो गरेँ ।’
त्यसबेला सङ्घीयता र धर्मनिरपेक्षताजस्ता विषयहरूको टुङ्गो जनमतसङ्ग्रहमार्फत गरिनु उपयुक्त हुने विचार प्रकट गरेको स्मरण गर्दै घिमिरेले भन्नुभयो, ‘यो संविधान राष्ट्रको हितमा छैन । खासगरी धर्मनिरपेक्षता, सङ्घीयता र निर्वाचन प्रणाली (समानुपातिक) लगायतका प्रावधानमा मेरो गम्भीर असहमति छ । मुलुकको सार्वभौमिकता, अखण्डता, राष्ट्रियता र राष्ट्रिय एकतालाई गम्भीर क्षति पुऱ्याउने प्रकारका तत्वगुण भएको संविधानप्रति मेरो सच्चा नेपाली मन सहमति जनाउँदैन । त्यसैले म पदक र प्रमाणपत्र थाप्न राष्ट्रपतिनिवास पनि जाँदिनँ ।’
घिमिरेले अगाडि भन्नुभयो, ‘राष्ट्रहितविपरीत बनेको यो संविधान नबदलिएसम्म राष्ट्रले सही निकास प्राप्त गर्न सक्दैन भन्नेमा म विश्वस्त छु ।’
नेता लक्ष्मणप्रसाद घिमिरे मात्र होइन, काङ्ग्रेसका अर्का युवा नेता एवम् सांसद डा. अमरेशकुमार सिंहले पनि पदक र कदरपत्र अस्वीकार गर्ने निर्णय लिएका छन् । (घटना र विचार)