कोरोनापछि बन्द विद्यालयहरु खुले, तर छैन स्वास्थ्य मापदण्ड

ओखलढुंगा : कोरोना भाइरसको फैलँदो संक्रमणका कारण बन्द भएका विद्यालय नौ महिनापछि खुल्न थालेका छन्। नेपाल सरकारले सहज सिकाइ निर्देशिका २०७७ जारी गरेपछि विद्यालय सञ्चालनमा आएका हुन्। 

सहज सिकाइ निर्देशिका २०७७ का आधारमा विद्यालयहरु सञ्चालनमा आउन थालेका शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय ओखलढुंगाका इकाइ प्रमुख भिम प्रसाद मिश्रले बताए।
मंसिर २५ गतेदेखि जिल्लाका सबै सामुदायिक तथा संस्थागत विद्यालय सञ्चालनमा आएका उनको भनाइ छ। विद्यार्थीको संख्याका आधारमा स्वास्थ्य मापदण्ड अपनाएर पठनपाठन भइरहेको भनिए पनि कतिपय विद्यालयले स्वास्थ्य मापदण्ड नअपनाई विद्यालय संचालन गरिरहेको अवस्थामा संक्रमण जोखिम भने बढी नै छ।

खुलेका विद्यालयहरुमा अनिवार्य मास्क, सेनिटाइजर र हात धुने साबुन–पानीको व्यवस्था गर्न सम्बन्धित विद्यालयलाई हरेक गाउँपालिका शिक्षा शाखाले पत्राचार गरेको बताइए पनि विद्यालयले त्यस्तो गरेको पाइएको छैन। ​पहिला जिल्ला शिक्षा कार्यालयले गर्ने अधिकांश काम स्थानीय निकायलाई जिम्मा दिएको र स्थानीय तहका शिक्षा शाखाले समन्वय नगर्दा कतिपय तथ्यांक तथा विवरणसमेत मिल्न छाडेका छन्।

शिक्षा शाखा अधिकृतहरु हरेक स्थानीय तहमा भए पनि इकाइसँग समन्वय गरेको नपाइएको इकाइ प्रमुख मिश्रको भनाइ छ। जिल्लाभित्रका सबै ३३१ सामुदायिक तथा ३३ संस्थागत विद्यालय संचालनमा आएका शिक्षा समन्वय इकाइ ओखलढुंगाले जनाएको छ।