खेलाडी विमल र विक्रमको शल्यक्रिया कतारमा हुने

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमका चोटग्रस्ट दुई खेलाडी विमल घर्तीमगर र विक्रम लामाको श’ल्यक्रिया कतारमा हुने भएको छ ।

विश्वमै खेलकुदसम्बन्धि चोटको शल्यक्रियाका लागि प्रख्यात रहेको अस्पेटारमा उपचार गर्न एन्फाले कतार फुटबल संघ समक्ष आग्रह गरेको थियो । एन्फाको आग्रह कतारले स्वीकारेसँगै दुवै खेलाडीको शल्यक्रिया अब अस्पेटारमा हुने पक्का भएको छ ।

राष्ट्रिय टिमको प्रशिक्षणका क्रममा गत साता मात्रै विमल घाइते भएका थिए । उनकाे चोटको प्रारम्भिक रिपोर्टमा तीन गम्भीर चोट देखा परेको छ । विमलको घुँडाको एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसीएल) च्यातिएको छ भने मेडीएल कोल्याटरल लिगामेन्ट (एमसीएल) मा पनि हल्का चोट देखिएको छ ।

यस्तै ल्याटरल मेनिस्कसमा पनि केहि चोट रहेको देखिएको थियो । यता विक्रमको भने दुई वर्षअघि शल्यक्रिया गरिएको खुट्टामा थप उपचार आवश्यक भएको हो । उनले यसअघि नेपालकै ग्रान्डी अस्पतालमा श’ल्यक्रिया गरेपछि झन्डै डेढ वर्ष सक्रिय फुटबल खेलेका थिए । उक्त खुट्टामा थप समस्या देखिएको छ ।

उनको चोट गम्भीर रहेकाले उपचारपछि फेरि मैदानमा फर्कन लामै समय लाग्न सक्ने बताइएको छ ।