निर्मला पन्तका हत्यारा छिटै सार्वजनिक गर्ने तयारीमा ! यसो भन्छन गृहमन्त्री थापा

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले एक वर्षअघि कञ्चनपुरमा निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अभियुक्तलाई छिट्टै सार्वजनिक गर्ने बताउनुभएको छ ।

राष्ट्रिय सभा मातहतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले गृह मन्त्रालयसँग सम्बन्धित सरकारी आश्वासन सम्बन्धमा जानकारी दिन सोमबार समिति बैठकमा गृहमन्त्री थापाले भन्नुभयो– ‘निर्मलाका दोषी दिलिप विष्ट नै हुन सक्ने भनेर धेरैले भनेका छन्, बयान पनि त्यस्तै छ ।’

गृहमन्त्री थापाले निर्मला हत्याका दोषी पत्ता लगाउन सयौंमाथि छानबिन र निगरानी बढाउँदै सोधपुछ गरिरहेको भन्दै प्रमाणहरु सुरक्षाकर्मीले जुटाए पनि डीएनए परीक्षण म्याच नभएपछि समस्या भएको उहाँले बताउनुभयो ।
‘निर्मला हत्या काण्डमा मुछिएका हाई प्रोफाइललाई जोगाउने उद्देश्य छैन ।’ उहाँले बताउनुभयाे ।

गृहमन्त्री थापाले अपराध अनुसन्धानको फरक रणनीति अपनाइएको भन्दै बाहिर सार्वजनिक गर्न नमिल्ने भन्दै समिति सचिवालयलाई प्रतिवेदन समिति सचिवालयमा गोप्य राख्न अनुरोध गर्नुभयो ।

बैठकमा गृहमन्त्री थापाले गत वर्ष १५ साउन २०७५ मा संसदीय सुनुवाइ समिति सदस्यसमेत रहेकी सांसद निरुदेवी पाललाई पेस्तोल ताकेर मार्ने धम्की दिने व्यक्तिको खोजी भइरहेको बताउनुभयो ।