अर्बपति पनि भोकै मर्ने देश

कुनै समय जिम्बाबे अफ्रिकाको एक धनी देश मानिन्थ्यो । यहाँको निर्यात र क्रिकेट विश्वमा चर्चित थियो । सन् १९८० सम्म यो देश बेलायतको उपनिवेश थियो । रोबर्ट मुगावेले गोराबाट देशलाई स्वतन्त्रता दिलाएपछि उनी नै प्रमुख शासक बने । अहिलेसम्म उनी नै प्रमुख छन् ।

मुगावेले देशका सबै नागरिकलाई धनी बनाउने उद्देश्यले गोराबाट भूमि हडप्दै काला जातिलाई बाँडिदिए । पैसा अनावश्यक रूपमा बाँड्न थाले । सरकारले पैसा बाँडेपछि जनताले काम नगर्नुपर्ने भयो । उत्पादन घट्यो । उत्पादन घट्दा निर्यात पनि घट्यो । यसले देशको अर्थतन्त्रमा नकारात्क असर पर्‍यो ।

यता, जनतालाई पैसा बाँड्न सरकारले आन्तरिक र बाह्य ऋण तीव्र लिइरहेको थियो । उता उत्पादन घट्दा निर्यातबाट रकम आपूर्ति भइरहेको थिएन । यसको पूर्ति गर्न सरकारले नोट छाप्न थाल्यो । नोट छाप्ने प्रवृत्तिले वस्तुको आपूर्तिभन्दा माग बढी हुन गयो । पैसा प्रशस्तै भयो । तर, वस्तु पाउन छाड्यो ।

रोबर्ट मुगावे र उनका आर्थिक सल्लाहकारले अर्थतन्त्रको चक्रलाई बुझ्न सकेनन् । उनीहरू पैसा छापेर मात्र अर्थतन्त्र उकास्न सकिन्छ भन्नेमा लागे । हुँदाहुँदा यतिसम्म भयो कि सरकारको नोट छाप्ने मेसिनले आराम गर्ने मौकै पाएन । जनतासँग यति पैसा जम्मा भयो कि अर्बपति पनि भोकले मर्ने अवस्था आइलाग्यो ।

सन् २००८ सम्म आइपुग्दा जिम्बाबेको अवस्था ज्यादै नाजुक अवस्थामा पुगिसकेको थियो । त्यो वर्ष मुद्रास्फीति दर ७९ अर्ब ६० करोड प्रतिशत थियो । एउटा नोट १ सय खर्ब जिम्बाबे डलरसम्म छापियो । यो संसारकै सबैभन्दा ठूलो नोट मानिन्छ । यो नोटको वास्तविक मूल्यचाहिँ ४० अमेरिकी डलर मात्र हुन्थ्यो ।
पछि जिम्बाबे डलर प्रयोगमा ल्याउन बन्द गरियो । अहिले त्यहाँ विभिन्न देशका मुद्रा चलनमा छन् । तर, आफ्नै देशको मुद्राको कुनै मोल छैन । अर्बपति पनि रोडपति भएका छन् ।
अहिले भेनेज्वेलाको त्यस्तै अवस्था छ । त्यो देश पनि अधिक मुद्रास्फीतिको अवस्थाबाट गुज्रिरहेको छ ।