पूर्व उपसचिव घरमा गोली प्रहार

काठमाडौं, १४ साउन । पूर्व उपसचिव विष्णुप्रसाद शर्माको कलङ्कीस्थित घरमा गोली प्रहार भएको छ ।

सिकार खेल्न प्रयोग गरिने इजाजत प्राप्त हतियारबाट उनको घरमा गोली प्रहार भएको जनाइएको छ । काठमाडौं–१४ कलंकीस्थित शर्माको घरमा सोमबार राति साढे ८ बजे टुटु राइफलबाट गोली चलेको प्रहरीले जनाएको छ । एकदमै कम दूरीबाट चलेको गोलीले शर्माको घरको तेस्रो तलाको सिसाको झ्याल छेडेको छ ।

सिसा फुटेर केही चिजभित्र छिरेको आवाज आएपछि पढिरहेकी शर्माकी छोरी आत्तिएकी थिइन् । कोठामा सानो गोली फेला परेपछि प्रहरीमा खबर गरिएको थियो ।

घटनामा कुनै क्षति भएको छैन । घटना अनुसन्धानमा जुटेको महानगरीय प्रहरी अपराध महाशाखाले शर्माको घरमा इजाजतप्राप्त हतियार ‘टुटु’ राइफलबाट गोली चलेको जानकारी दिएको छ । यो नियतवस् गोली हानेको नभएर अचानक हतियार पड्केर निम्तिएको घटना भएको प्रहरीको अनुमान छ ।

‘गोली चलेको हो, नियतवश गोली चलाएको देखिँदैन, हामी अनुसन्धान गर्दैछौं,’ महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक केदार ढकाल भन्छन्, ‘कसैले चलाउँदै गर्दा अचानक गोली चलेको हुनसक्ने हाम्रो अनुमान छ ।’

उनका अनुसार गोली चलेको आवाज आएन । उक्त हतियार चराचुरुङ्गीको सिकार खेल्न प्रयोग हुने हतियार भएको जनाइएको छ । यस्तो हतियारको आवाज आउँदैन ।

झ्यालको सिसा छेडेर गोली भित्र छिरेपछि शर्माको घरमा वातावरण तनावपूर्ण बनेको थियो ।
महाशाखाको टोलीले उक्त हतियार कहाँबाट चल्यो भन्नेबारे खोजी थालेको छ । घटनास्थल वरिपरीका घरमा प्रहरीले सोधपुछ गरिरहेको छ ।