‘प्रचण्ड’ दुबईस्थित संसारकै महँगोमध्येमा पर्ने होटेलमा

काठमाडौँ। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुबईस्थित संसारकै महँगोमध्येमा पर्ने होटेलमा बसेका छन् । मंगलवार बिहान साढे ९ बजे परिवारसहित दुबई उडेका प्रचण्ड दुबईको पाम जुमेरास्थित एट्लान्टिस होटेलमा बस्ने भएका हुन्।

दुबईस्थित स्रोतले दिएको जानकारी अनुसार नेपाली समयअनुसार दिउँसो करीब १ बजे सपरिवार दुबई पुगेका प्रचण्डलाई त्यहाँका नेकपाका कार्यकर्ताहरूले स्वागत गरेका थिए । नेकपा युएईका नेताहरू बाबुराम विश्वकर्मा र श्याम पाठक प्रचण्डलाई स्वागत गर्न एयरपोर्ट पुगेका थिए।

‘उहाँ दुबईस्थित नेपाली कम्युनिटी र नेपाली बिजनेस काउन्सिलका सदस्यहरूसँग भेट गर्नुहुनेछ,’ स्रोतले लोकान्तरसँग भन्यो, ‘अहिलेसम्म त्यस्तो राजनीतिक भेटघाटको कार्यक्रम तय भएको छैन।’

नेकपामा विभागको नेतृत्व टुंगो लगाउन सकस परेपछि १५ दिनसम्म सचिवालय बैठक स्थगित गरेर प्रचण्ड सपरिवार दुबई लागेका हुन् । पारिवारिक स्रोतले दिएको जानकारी अनुसार प्रचण्ड नितान्त घुमघामका लागि परिवारसहित दुबई उडेका हुन्।

प्रचण्डसँगै पत्नी सीता दाहाल, छोरीहरु रेणु दाहाल र गंगा दाहाल पनि भ्रमणमा रहेका छन् । लामो समयदेखि बिरामी रहेकी पत्नी सीता दाहालको इच्छामा दुबई भ्रमण तय गरिएको पारिवारिक स्रोतले दाबी गरेको छ।