प्यान नम्बर लिन तयार फुटपाथका व्यपारी भन्छन- ‘कर तिरे अनुसारको सुविधा खै ?’

काठमाडाैँ । सरकारले व्यवसाय वा रोजगारी गर्ने सबैले अनिवार्य स्थायी लेखा नम्वर (प्यान) लिनुपर्ने व्यवस्था गरेपछि अहिले नाङलो पसल देखि ठुला व्यवसायी सम्म तरंग फैलिएको छ । सडकमा प्लास्टीक टिप्ने, नाङलो पसल थाप्ने देखि ठुला व्यापार गर्ने सबैले प्यान अनिवार्य लिनुपर्छ । तर कतिपयलाई प्यानका विषयमा अझै थाहा छैन भने निजी क्षेत्रले हतारको निर्णय भनेको छ ।

साउन १ गतेदेखि लागुभएको नयाँ व्यवस्था अनुसार १ हजार रुपैयाँ भन्दा माथिको कारोबारमा प्यान बिल लिन अनिवार्य छ । उद्योग, व्यापार, पेशा, व्यवसाय, बैकिङ कारोवार, फुटपाथ सबै प्यानमा अनिवार्य जोडिनु पर्छ । सरकारले कर प्रणालीमा आवद्ध भएपछि बल्ल नागरिकले प्रत्यक्ष कर तिरेको अनुभूति हुने बताउँछ ।

तर, नीजि क्षेत्रका ठुला व्यवसायीहरुले हतारमा गरिएको निर्णय भन्दै असहमति जनाइरहदा सडकमा नाङलो पसल थापी गुजारा चलाउने हरुलाई भने कुनै जानकारी छैन् । राज्यले लिएको नीतिबाट प्रत्यक्ष फाइदा पुगे प्यान नम्वर लिन आफुहरु तयार रहेको नाङलो व्यापारी बताउँछन् । तर, कर माथि करको भार लगाइनुले अफुहरुलाई गुजारा चलाउनै कठिन भइराखेको उनीहरुको गुनासो छ ।

स्थायी लेखा नम्वार अर्थात प्यान नम्बर करदाताको पहिचान गर्न राज्यले व्यवस्था गरेको स्थायी संकेत अंक हो । यो व्यवासायको प्रकृति वा अन्य विवरण बदलेपनि करदाताको व्यक्तिगत प्यान नम्वर भने स्थायी नै हुन्छ । सरकारले अनिवार्य गरेको यो नीति माथि ठुला व्यापारीलाई फाइदा पुगेपनि सानालाई भने मार पर्ने देखिन्छ । कर तिरे अनुसारको सुविधा केही पनि पाउन नसक्ने तर सरकारले कर बढाउँदै लैजाने प्रवृतिले साना व्यवसायीहरु आजित छन् ।

आन्तरीक राजश्व विभागका अनुसार अहिलेसम्म २४ लाख मानिसले व्यक्तिगत प्यान नम्वर लिएका छन् । मासिक तलब पाउनेका लागि प्यान नम्बर राम्रैहोला तर हरेक दिन फरक फरक ठाउँमा ज्याला मजदुरी गर्नेका लागि प्यान नम्बर समस्या बनेको छ ।