छवि र शिल्पाको विवाह दर्ता गराउने वडा सचिवकाे रहस्यमयी मृत्यु

काठमाडाै। निर्माता छविराज ओझा र शिल्पा पोखरेलको विवाह दर्ता गराउने वडा सचिवकाे रहस्यमयी मृत्यु भएकाे छ । काठमाडौं महानगरपालिका वडा नम्बर ८ का वडा सचिव प्रकाश पौडेलको रहस्यमयी निधन भएको हाे ।

पौडेलले निर्माता छविराज ओझा र शिल्पा पोखरेलको विवाह दर्ता गराएका थिए। केही दिनअघि छविकी पहिलो श्रीमती हेमा ओझाले यसअघिको विवाहको प्रमाण नै नखोजी विवाह दर्ता गराएको आरोपमा वडा सचिव पौडेलविरुद्ध अख्तियारमा निवेदन दर्ता गराएकी थिइन्।

आफूविरुद्ध निवेदन परेपछि उनी केही दिनदेखि तनाबमा थिए। पहिलाको श्रीमतीसँग सम्बन्धविच्छेद भएको छ या छैन भन्ने कुरा नबुझी विवाह दर्ता गराएर अख्तियारीको दुरुपयोग गरेको आरोप उनीमाथि लागेकाे स्राेतले जनाएकाे छ।

छवि र शिल्पाविरुद्ध प्रहरीले प्रकाउ पूर्जी जारी गरेको अवस्थामा वडा सचिवको मृत्युलाई रहस्यमयी ढंगले हेरिएको छ। वडा नम्बर ८ का वडा अध्यक्ष दिनेशकुमार डंगोल भने घटना कसरी घट्यो भन्ने आफूलाई कुनै जानकारी नभएको बताए ।

आइतबार बिहान ३ बजे उनको निधन भएको थियो। उनको मंगलबार पशुपति आर्यघाटमा दाह–संस्कार गरिएको पारिवारीक स्रोतले जनाएकाे छ। तर, मृत्युको कारण भने हालसम्म खुलेको छैन।

५० वर्षीया पौडेल श्रीमती र छाेरीसहित लैनचौरमा बस्दै आएका थिए। छोरा अष्ट्रेलियामा बस्दै आएका थिए।