जयशङ्करसँग कुरा मिलाउन नयाँदिल्लीमा गुप्त फोन

नेपाल कम्युनिस्ट पार्टीका सहअध्यक्ष प्रचण्ड भारतीय विदेशमन्त्री एस जयशङ्करसँग ‘कुरा मिलाउन’ आतुर रहेको जानकारी घटनाविचारलाई प्राप्त भएको छ । प्रचण्डले गत साता नेपालका लागि भारतको राजदूत रहिसकेका एक व्यक्तिलाई टेलिफोन गरी एस जयशङ्करसँग विश्वासको वातावरण बनाइदिन र आफूलाई भारतमा बोलाउने तारतम्य मिलाइदिन आग्रह गरेका थिए ।

प्रचण्डनिवासको सूत्रका अनुसार उनले श्यामशरणसँग संवाद गरेका थिए या रञ्जित रेसँग भन्ने स्पष्ट हुन सकेन, तर संवादको एकतर्फी व्यहोरा सुन्दा नेपालमा राजदूत भइसकेका कुनै व्यक्तिसँग कुराकानी भइरहेको स्पष्ट बुझिन्थ्यो । नयाँदिल्लीस्थित सूत्रका अनुसार श्यामशरण यतिबेला भारतमा उपेक्षित छन् र काङ्ग्रेससँगको अधिक निकटताका कारण भारतको नयाँ सत्ताले उनीसँग दूरी बनाएको छ । भाजपा सरकारसँग निकट नभए पनि रञ्जित रेको चाहिँ एस जयशङ्करसँग विशेष सम्बन्ध रहेको बताइन्छ । त्यसैले प्रचण्डले रञ्जित रेलाई नै टेलिफोन गरी विदेशमन्त्रीसँग सम्बन्ध राम्रो बनाइदिन आग्रह गरेको हुन सक्ने देखिन्छ ।

ज्ञातव्य छ, २०७२ सालमा रातारात संविधान जारी गरिनुभन्दा केही दिनअघि विदेशसचिवको हैसियतमा रहेका एस जयशङ्कर प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रूपमा नेपाल आएका थिए । सुशील कोइराला, शेरबहादुर देउवा, केपी ओली, प्रचण्ड, बाबुराम भट्टराई, माधवकुमार नेपाल र कृष्ण सिटौलालगायतका नेताहरूलाई भेटी त्यसबेला जयशङ्करले ‘केही दिन पर्खिएर भए पनि सबै नेपालीको भावनालाई समेटेर मात्र संविधान जारी गर्न’ आग्रह गरेका थिए ।

तर, उनको कुरालाई नेताहरूले पूर्ण उपेक्षा गर्दै संविधान तत्काल जारी गरिने जवाफ दिएका थिए । नेपाललाई हिन्दूराष्ट्र बनाउन दबाब दिएको भन्दै प्रचण्डहरूले त्यसबेला ‘भारतीय हस्तक्षेपविरुद्ध एकजुट हुँदै राष्ट्रियताका निम्ति साइकल चढेर प्रतिवाद गर्न’ सार्वजनिक आह्वान गरेका थिए । आफूहरूलाई संवादको क्रममा जयशङ्करबाट ठूलो अपमान भएको भन्ने भनाइ प्रचण्डको थियो । त्यसबेला नेपालको काङ्ग्रेस, एमाले र माओवादी नेताहरू भविष्यमा दोहोरिएर नरेन्द्र मोदीको सरकार नबन्ने विश्वासमा थिए । त्यसैले काङ्ग्रेस आई र उक्त पक्षसम्बद्ध व्यक्तिहरूको इच्छा र इसारालाई मात्र नेपालमा सम्बोधन गर्ने गरिन्थ्यो ।

पूर्वअनुमानविपरीत भारतमा भाजपा सरकार दोहोरिएपछि आत्तिएका प्रचण्डहरू जयशङ्कर विदेशमन्त्री भएर आएपछि एकप्रकारले आतङ्कित नै भएका छन् । त्यसैले प्रचण्ड जयशङ्करसँग कुरा मिलाएर नेपालमा तेस्रोपटक प्रधानमन्त्री बनेको कीर्तिमान राख्न प्रयासरत छन् । गत साताको टेलिफोन संवाद पनि यसैक्रममा भएको बुझिएको छ ।