राजनीतिमा आउनु परे हजुरबुवाको पार्टी छ, उतै जाउँला : मनीषा कोइराला

कलाकार मनीषा कोइराला मंगलबार राजधानीको एउटा ‘गैरराजनीतिक’ कार्यक्रममा सहभागी भइन्। गैरराजनीतिक भनिएको अभियानमा उनी सहभागी भए पनि अन्य सहभागीले जमेर हिन्दु राष्ट्र र राजसंस्थाको वकालत गरे।

नेपाली कांग्रेसको ‘लिगेसी’ बोकेको कोइराला परिवारकी ‘पब्लिक फिगर’ मनीषाको उक्त कार्यक्रममा सहभागिता नै धेरैका लागि आश्चर्यको विषय बन्यो। पृथ्वीनारायण शाहको जन्म जयन्ती पुस २७ लाई भव्य रूपमा मनाउने कार्यक्रममा उनको सहभागिताले राजतन्त्र पुनर्स्थापनाका पक्षधरलाई हौसला मिलेको छ।

मनीषाले मञ्चबाट पनि संयमित र कूटनीतिक भाषण गरिन्।’पछाडि के भयो बिर्सौं’, कोइरालाले भनिन्, ‘राष्ट्रिय एकता दिवसको मूल्यलाई सम्झिएर हामीले यो दिवस मनाउनु पर्छ।’

मनीषाले राजतन्त्र र हिन्दु राष्ट्रका विषयमा वक्ताहरूले बोलिरहँदा सहभागीले जस्तो ताली बजाइनन्। सरकारले पृथ्वी जयन्तीलाई राष्ट्रिय दिवसको मान्यता दिएको छैन। मनीषा पृथ्वी जयन्तीलाई राष्ट्रिय मान्यता दिलाउने अभियानमा जोडिएकी हुन्।

कार्यक्रममा छोटो धारणा राख्दै उनले ‘राजनीतिक अस्थिरता भए पनि देश अस्थिर बन्न नहुने’ टिप्पणी गरिन्।सडकमा हिन्दु राष्ट्र र राजसंस्था पुर्नस्थापनाको विषयमा नाराबाजी गर्नेहरूले पृथ्वी जयन्तीको पक्षपोषण गरिरहेका छन्। उनकै बुबा प्रकाश कोइराला पनि हिन्दु राष्ट्र र राजसंस्थाको वकालत गरिरहेका छन्। तर मनीषाले कार्यक्रममा आफ्नो धारणा राख्दा न त हिन्दु राष्ट्र भनिन् न त राजसंस्था नै उच्चारण गरिन्।

मनीषा नेपाली कांग्रेसका संस्थापक विपी कोइरालाकी नातिनी हुन्। उनका बुबा प्रकाश कोइराला पछिल्लो समय हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा वकालत गर्दै आएका छन्। उनको कान्छो हजुरबुबा गिरिजाप्रसाद कोइरालाले २०६२/०६३ को आन्दोलनमार्फत् गणतन्त्र स्थापनाको नेतृत्व लिए।

उनका काका शंशाक कोइराला अहिले नेपाली कांग्रेस पार्टीको महामन्त्री छन्। शशांकले पछिल्लो समय हिन्दु राष्ट्रको विषयमा जनमत संग्रहको माग अगाडि सार्दै आएका छन्।

राजनीतिक परिवारमा हुर्किएकी मनीषा पनि हिन्दु राष्ट्रको विषयमा ‘जनताको मत’ लिनु पर्ने धारणा राख्छिन् ‘म चाहन्नँ चार पाँच वटा पार्टीले देशको भविष्य निर्धारण गरून् भन्ने चाहन्नँ’, मनीषाले भनिन्, ‘म सबै जनताले बोल्नुपर्‍यो र लाग्नुपर्‍यो भन्नेमा छु।’

‘त्यो भनेको जनमत संग्रहमार्फत् हो’ भन्ने प्रश्नमा मनीषाले भनिन्, ‘जनमत संग्रहमा सबै सहभागी हुनपर्छ पहिला। पाँच प्रतिशत दश प्रतिशत मत पाएर त्यहाँबाट बहुमत पाएर … म त्यस्तो देख्दिनँ।’
थप भिडियोमा हेर्नुस्