अब ठूला बन्दरगाहमा नेपाली झण्डावाला कन्टेनर (भिडियो)

१४ साउन, काठमाडौं । ‘नेपालको राष्ट्रिय झण्डा फहराउँदै अब पानीजहाजले मालसामान ओसार्ने छन् ,’ प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अघिल्लो कार्यकालमा दिएको यो अभिव्यक्ति निकै चर्चित र विवादित बनेको थियो । वर्तमान कार्यकालमा पनि ओलीले पानीजहाजको मुद्दालाई आफ्नो प्रतिष्ठाको विषयको रुपमा लिएका छन् ।

केही समयअघि सरकारले पानीजहाज कार्यालय पनि स्थापना गरेको छ । तर, आफ्नै पानीजहाज चलाउने कुरामा ठोस प्रगति केही भएको छैन । तर, अब कम्तिमा पानीजहाजमा मालसामान ओसार्ने कन्टेनरमा भने नेपाली झण्डा फहराउने भएको छ ।

प्रभु ग्रूप अन्तर्गतको नेपाली सिपिङ लाइन्सले पहिलोपटक विश्वका ठूला समुद्री बन्दरगाहमा आफ्नो सेवा सुरु गरेसँगै नेपाली झण्डा अंकित कन्टेनरमा नेपालसम्म सामान ढुवानी हुने भएको हो । नेपालसँग कारोबार हुने ठूला एशियाली बन्दरगाहहरुमा नेपाल सिपिङ लाइन्सले सेवा सुरु गर्न लागेको कम्पनीका अध्यक्ष देवीप्रकाश भट्टचनले बताए ।

पहिलो चरणमा झण्डै २ हजार कन्टेनर खरिद गरी यो सेवा सुरु गर्न लागिएको उनले जानकारी दिए । ती कन्टेनरमा नेपाली सिपिङलाइन्स र नेपालको राष्ट्रिय झण्डा पनि अंकित हुने छ ।

योसँगै अब नेपाली व्यबसायीहरुले नेपालकै कम्पनीसँग सिपिङ सेवा लिन पाउनेछन् । जसले गर्दा नेपाली ब्यबसायीहरुले कन्टेनर भाडामा लिएर नेपालसम्म सामान ढुवानी गर्दा डलरमा भुक्तानी गर्नुपर्ने बाध्यता हटेको छ । साथै नेपाली व्यबसायीहरुले सामानको एलसी खोलेकै बेलामा कन्टेनर सेवाको समेत रकम पठाउनुपर्ने बाध्यता हटेको छ ।