चिनियाँ राष्ट्रपति सि र भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदै

काठमाडौं, १५ साउन । प्रधानमन्त्री आफै कस्सिएर होटल, एयरपोर्ट, बाटो र सुरक्षा खतराबारे चासो दिइरहेका छन् । फलतः केही महिनाभित्रै देशवासीलाई आश्चर्यमा पार्ने त्यस्तो कुनै काम भएछ भने अचम्म नमान्दा हुन्छ !

आम अनुमानभन्दा फरक किसिमका विदेशी पाहुनाले नेपाल टेक्ने अवस्था आउँदैछ । यदि, कुनै ठूलै विपद् वा महामारी भएन भने नेपालको इतिहासमा अति नै महत्व राख्ने घटनाक्रम हुन लागेको हो । यदि सम्माननीय प्रधानमन्त्रीलाई हाम्रो कूटनीतिक संयन्त्रले कुशलतापूर्वक सघायो भने दुई ढुङ्गाबीचको तरुलरुपी नेपालले उत्तर र दक्षिणका सर्वोच्च व्यक्तिलाई स्वागत गर्ने मौका पाउँदैछ ।

यो कामका लागि प्रधानमन्त्री आफँंले मन्त्री र कर्मचारीलाई अनुगमन र निर्देशन दिइरहेका छन् । र, यो कामको निम्ति हिजो मंगलबारदेखि घनिभूत तयारी शुरु भएको छ । सिनामंगलतिरका झारपात उखेल्न थालिएको छ । यस्तो कुदाकुदबीच सम्भवतः दशैंको सेरोफेरो नेपालले दुई विदेशी पाहुनालाई स्वागत गर्दैछ । यसका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको समग्र वस्तुस्थिति अध्ययन भइरहेको छ ।

भिभिआइपी मुभमेन्टका कारण कमर्सियल उडानहरुलाई पर्ने असरको बैकल्पिक व्यवस्थापन गर्न विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीलाई पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय समेतको जिम्मेवार हुनुको नाताले प्रधानमन्त्रीले विशेष निर्देशन दिइसकेका छन् । होटलहरु बस्न योग्य छन्–छैनन् ? सडकहरुमा पिच, खाल्डाखुल्डीको अवस्था कस्तो छ ? त्यतिबेलासम्म नारायणहिटी अगाडि शेष घलेको थप होटल बनिसक्ला कि नसक्ला ? यस्ता पक्षमा मिहिन अध्ययन गर्न समेत प्रधानमन्त्री आफैं कस्सिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नै पो आउँदैछन् कि भन्नेखालको सुरक्षा सतर्कता र गोपनीयता अपनाइँदै छ । सिंहदरबारको दक्षिणी गेटसामुन्ने नवनिर्मित होटल घरझैं विमानस्थल वरपरका अन्नपूर्ण टावरलगायत अग्ला भवनहरुको पनि निरीक्षण भइरहेको छ । राष्ट्रिय अनुसन्धान विभाग स्रोतकाअनुसार जसरी पछिल्लोचोटि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउँदा होटल सोल्टी वरपरको अग्ला घर खाली गरियो, अहिले त्यस्तै गर्न लागिएको छ ।

विमानस्थलनजिकै पोशाक परिवर्तन र आरामको निम्ति सम्भावित वासस्थानको रुपमा लिइएको छ, होटल हायातलाई । त्यसका लागि चावहिल, बौद्ध, टुसालसम्म उच्चगुणस्तरीय पिच गर्ने काम थालिँदैछ । मेरियट, हिल्टनजस्ता होटलको स्थिति पनि अध्ययन भइरहेको छ । बौद्धमा तिब्बती शरणार्थीहरुको बाक्लो बस्ति रहेका कारण त्यहाँको सुरक्षा स्थितिबारे मिहिन पाराले बुझ्ने काम हुन थालेको छ ।

विमानस्थलको रनवेबारे दिनैपिच्छे प्रधानमन्त्री आफैले अपडेट लिइरहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिलेसम्म १९६ टन तौल क्षमताको जहाजलाई मात्र ओर्लने अनुमति छ । अब भीभीआईपीको भिजिटलाई ध्यानमा राखेर लोडको प्रतिबन्ध हटाउन लागिएको छ । ९ वटा जहाज पार्किङ रहेकोमा पारीपट्टीको रिमोट पार्किङसहित एयर बस ३२० समेत अड्याउन सकिने गरी ११ वटा भएको छ ।

केही समयअघि राति १२ बजे विमानस्थल विस्तारको निरीक्षण गर्न चिनियाँ राजदूत हौ यानछि आफैं पुगेर विमानस्थल पदाधिकारीलाई भनेकी थिइन । अक्टोबरको ७ तारिख अर्थात असोज २० गते तिब्बत चीन अधीनस्थ भएको ७० औँ वर्षगाँठ समारोहमा राष्ट्रपति सि सहभागी हुने र, त्यहाँबाट सिगात्से पुग्ने कार्यक्रम तय भएको छ ।

सिगात्से नेपालको खासा नाकाबाट चार सय किलोमीटरको दूरीमा पर्छ । त्यसको चार दिनपछि भारतीय साँस्कृतिक शहर बनारस पुग्ने तय भइसकेको छ । नेपालले पहल गर्दा आठदेखि दश तारिखबीच कुनै एक बिहानको आगमन समय पाइन सक्छ । चिनियाँ राष्ट्रपति पहिला पनि बंगलादेश हुँदै नेपाल नटेकी गोवा गएका हुन् । सिले दक्षिण एसियाली मुलुकमध्ये नेपालमात्र टेक्न बाँकी छ । भारतीय राष्ट्रपति रामनाथ कोविदले पनि त्यहीताका नेपाल भ्रमण गर्ने सम्भावना छ । जनआस्था साप्ताहिकबाट