योगेश भट्टराई बने पर्यटनमन्त्री, केहीबेरमा शपथ

साउन १५,
काठमाडौं– ५ महिनादेखि रिक्त रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मा नेकपाका युवा नेता योगेश भट्टराईले पाउने भएका छन् ।

राष्ट्रपति कार्यालय शितल निवासमा अपराह्न ४ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको नेकपा स्रोतले बतायो ।

नवनियुक्त मन्त्रीको शपथका लागि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय शितलनिवासमा पुगिसकेका छन् ।

गएको फागुन १५ गते हेलिकप्टर दुर्घटनामा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि प्रधानमन्त्री ओलीले नै मन्त्रालय सम्हाल्दै आएका थिए ।