नेपालमा कोरोना संक्रमितमध्ये ५९.३ प्रतिशतले सेवन गरे गुर्जो

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणमा परेका ५९.३ प्रतिशतले घरेलु औषधी प्रयोग गरेको अनुसन्धानबाट थाहा लागेको छ।

कोरोना संक्रमित भइ होम आइसोलेसनमा बसेका ५९.३ प्रतिशत संक्रमितले औषधिको रूपमा गुर्जो र बेसार प्रयोग गरेको पाइएको हो। होम आइसोलेसनमा रहेका बिरामीको स्वास्थ्य स्थितिबारे नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको ​अध्ययनअनुसार ५९ प्रतिशत संक्रमितले गुर्जो र बेसार लगायतका सामग्रीहरू प्रयोग गरेको पाइएको छ। परिषद्ले सो रिपोर्ट हालै सार्वजनिक गरेको छ। 

परिषद्का अनुसार अध्ययनमा कोरोना संक्रमणमा परेर होम आइसोलेसनमा बसेका ५३६ जना सहभागी थिए। त्यसमा ५७. ८ प्रतिशत पुरुष र ४२.२ प्रतिशत महिला थिए। ती मध्ये ५९.३ प्रतिशतले घरेलु उपचारको रुपमा गुर्जो र बेसार प्रयोग गर्ने गरेको र ५.६ प्रतिशतले आयुर्वेदिक र २९.६ प्रतिशतले एलोपेथिक औषधि प्रयोग गरेका थिए।