कोरोनासम्बन्धी सूचना नलुकाउन कर्मचारीलाई चिनियाँ प्रधानमन्त्रीको चेतावनी

चिनियाँ प्रधानमन्त्री ली खछ्याङले कोरोना भाइरस महामारीबारे कुनै पनि तथ्य नलुकाउन सरकारी कर्मचारीहरुलाई चेतावनी दिएका छन्।

बेइजिङनजिकैको हेबेई प्रान्तमा प्रकोप फैलिएपछि स्टेट काउन्सिलको बैठकमा लीले यस्तो बताएका हुन्। ‘संक्रामक रोग रोकथामको प्रक्रियाको एउटा प्रमुख पक्ष भनेको तथ्यको खोजी हो।

खुला र पारदर्शी रुपले महामारीको सूचना सार्वजनिक गर्नुहोस् र सूचना लुकाउने तथा कम देखाउने कामलाई कहिल्यै अनुमति नदिनुहोस्,’ शनिबार सार्वजनिक भएको वक्तव्यमा प्रधानमन्त्री लीको भनाइ उधृत गरिएको छ।

हाल हेबेई प्रान्तमा तीव्र गतिमा कोरोना फैलिँदै गएको जनाइएको छ। शनिबार चीनमा ६९ जनामा संक्रमण देखिएको थियो। शुक्रबार ३३ संक्रमित फेला परेका थिए। तीमध्ये धेरैजसो हेबेईका छन्।
राजधानी बेइजिङका सबै धार्मिक स्थल बन्द गरिएको छ। एजेन्सी