पृथ्वीनारायण शाहले एकीकृत नगरेको भए नेपाल होइन, उहिले भारतको प्रान्त बनिसक्थ्योः लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङदेनले पृथ्वीनारायण शाहले एकीकृत नेपाल नबनाएको भए नेपाल नभइ यतिबेलासम्ममा भारतको एउटा प्रान्त भइसक्ने बताएका छन्।

कतिपय जातीय संस्थाहरूको राष्ट्र निर्माता पृथ्वीनारायण शाहमाथि उठाइएका प्रश्नहरू खण्डन गर्दै नेता लिङदेनले भने, ‘अहिलेसम्म न लिम्बुवान न खम्बुवान न अन्य कुनै ‘वान’ रहन्थ्यो। पृथ्वीनारायण शाहले एकीकरण नगरेको भए यो भारतको प्रान्त बनिसक्थ्यो।‘

२९९ औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस समारोहमा बोल्दै नेता लिङदेनले राष्ट्र निर्माता पृथ्वीनारायण शाहले एकीकरण गरेकैले अहिले ‘नेपाल’ देश बनेको उल्लेख गर्दै सरकारले राष्ट्र एकता दिवस मनाउने विषयमा कन्जुस्याईं गर्न नहुने बताए।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई राष्ट्रव्यापी बनाउनका लागि जनस्तरबाट सरकारलाई व्यापक दबाब दिनुपर्ने उनले बताए। उनले भने, ‘यो देशको राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओली पनि एकीकृत नेपालको राष्ट्रपति र प्रधानमन्त्री हो। पृथ्वीनारायण शाहले एकीकरण नगरिदिएको भए देश पनि रहने थिएन। उहाँहरू पनि नेपालको राष्ट्रपति र प्रधानमन्त्री बन्न सक्नुहुन्नथ्यो।’

नेता लिङदेनले कतिपय विरोधीहरूले पृथ्वीनारायण शाहबारेको टिप्पणीको कुनै तुक नरहेको बताए।

उनले भने, ‘पछिल्ला राजनीतिक गतिविधिले नेपालको पहिचान हराउन थालेको छ। भाषा, राष्ट्रिय झण्डा तथा राष्ट्रिय जनावर परिवर्तन गर्ने प्रयास भए। हिन्दुराष्ट्रको पहिचान त समाप्त पारे।’ अन्य देशहरूमा पनि ती देशका निर्माता रहेका र तिनलाई ती देशहरूले सम्मान गर्ने गरेको लिङदेनको भनाइ थियो। तर नेपालमा भने देशको एकीकरण गर्ने राष्ट्र निर्माताको भूमिकालाई अवमूल्यन गर्ने गरेको उनले बताए।

उनले भने, ‘जस्ले नेपाल भन्ने नाम र पहिचान दियो, जस्का कारण नेपाल भन्ने राष्ट्र छ, त्यही एकीकरण गर्ने राष्ट्र निर्मातालाई अपमान गर्ने काम भएको छ।’

उनले केही समूहले पृथ्वीनारायण शाहको तस्वीरमा थुक्ने काम पनि गरेको बताए। तर, पृथ्वी जयन्ती मनाउने कुरा राप्रपाको मात्र नभएको लिङदेनको भनाइ थियो।