मनीषा कोइरालाको प्रश्न : ‘के यो नेपाली जनताकै सरकार हो ?’

अभिनेत्री मनीषा कोइरालाले सरकारविरुद्ध आक्रोश व्यक्त गरेकी छिन् ।

पृथ्वी जयन्तीको दिन सिंहदरबारको पश्चिमी गेटमा रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पणको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेपछि उनले सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गरेकी हुन् । अभिनेत्री मनीषा कोइरालासहितको र्‍याली पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न भद्रकालीबाट सिंहदरबारको गेटतर्फ जाँदै गर्दा प्रहरीले रोकेको थियो ।

प्रहरीले रोकेपछि र्‍यालीका सहभागीहरूले विरोध गरेका छन् । प्रहरीले हस्तक्षेप गरेको भन्दै अभिनेत्री मनीषा कोइरालाले सामाजिक सञ्जाल ट्विटरमार्फत आक्रोश पोखेकी छिन् । उनले नागरिकको राष्ट्रिय एकताप्रतिको सामूहिक भावलाई सरकारले सम्मान नगरेको बताएकी छिन् ।

यस्तै पृथ्वीनारायणको सालिक अगाडि नै सरकारले आपत्तिजनक कार्य गरेको कोइरालाको ठम्माई छ । उनले सोधेकी छिन्, ‘पानीको फोहोरा र टियर ग्याससहित तैनाथ प्रहरीलाई पठाउने सरकार के नेपालीको सरकार नै हो ?’

अभिनेत्री कोइरालाले सरकारले मौलिक हक खोसेर अधिनायकवादतर्फ उन्मुख भएको पनि टिप्पणी गरेकी छिन् ।