धामीको लहलहैमा अढाई वर्षीय बालकको बलि चढाउने ३ आरोपी पक्राउ, धामी फरार

जनकपुरधाम। अढाई वर्षीय बालक आर्यन साहको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। तीन सातादेखि अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार हत्या ‘बलि’ का लागि भएको हुन सक्ने तथ्य भेटिएको छ।

धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरका शम्भु साहका छोरा आर्यनको शव वैशाख २४ को बिहान घरनजिकैको बाँसघारीमा भेटिएको थियो। अघिल्लो साँझ हराएका बालकलाई आफन्तले अबेर रातिसम्म खोजतलास गर्दा भेटेका थिएनन्।

बिहान उनकै घरदेखि करिब ७५ मिटरपूर्वको बाँसघारीमा शव भेटिएको थियो। घाँटीको पछाडिको भाग काटिएको अवस्थामा शव फेला परेको थियो। अनुसन्धान बलितिरै केन्द्रित रहे पनि घटनास्थल र समयबारे अभियुक्तहरूको फरक–फरक बयानले छानबिन लम्बिएको प्रहरीले जनाएको छ। यो खबर जनकपुरबाट अजित तिवारी र सन्तोष सिंहले आजको कान्तिपुरमा लेखेका छन्।

धनुषा प्रहरी प्रमुख एसपी शेखर खनालका अनुसार आर्यन हत्याको अनुसन्धान धेरै कोणबाट भइरहेको छ । ‘शवको अवस्था, घटनास्थलको प्रकृति र पक्राउ परेकाको बयानले बालकलाई बलि दिइएको हुन सक्ने भन्ने कोणबाट पनि अनुसन्धान थालिएको छ,’ एसपी खनालले भने, ‘हत्याको ठयाक्कै कारण के हो भन्ने दुई–चार दिनमा प्रस्ट हुन्छ।’

प्रहरीले आर्यन हत्या प्रकरणमा शंका लागेका करिब ५० जनालाई हिरासतमा लिएर सोधपुछ गरेर छाडेको छ। साहका छिमेकी धामी शत्रुघन महतोलाई प्रहरीले पक्राउ गरेपछि अनुसन्धानले नयाँ मोड लिएको हो । मिथिला नगरपालिका–८ कुसुमबिछौनाका ५२ वर्षीय जंगवीर महतो राजमार्ग क्षेत्रका चर्चित धामी हुन् ।

हालै झारफुक र टुनामुना सिकेका शत्रुघन उनकै सालो हुन् । शत्रुघनको गिरफ्तारीपछि जंगवीर फरार छन् । शत्रुघनलाई बालक बलि दिन जंगवीरले उक्साएको प्रहरीको आशंका छ। साला पक्राउ परेपछि फरार भिनाजु शंकाको घेरामा परेका छन्।

शत्रुघनले नै आफ्नो धामी विद्या सिद्धिका लागि गुरुको बहकाउमा बालकको बलि चढाएको दाबी प्रहरी स्रोतको छ। ‘बालकको बलि चढाउनकै लागि हत्या गरिएको देखिन्छ,’ अनुसन्धानमा संलग्न एक प्रहरीले भने।

फरार रहेका धामी जंगवीरको भजनमण्डली पनि छ । उनको मण्डलीमा दुई वर्षअघि शत्रुघन नयाँ सदस्यका रूपमा थपिएका हुन् । सालो नै भएपछि जंगवीरले शत्रुघनलाई धामीको काम पनि सिकाए । झारफुक र टुनामुनाको मन्त्र पाएपछि शत्रुघनले सामान्य बिरामी पर्दा छरछिमेकका बच्चाको उपचार गर्न थाले ।

बालक आर्यनलाई पनि ज्वरो आउँदा शत्रुघनले नै झारफुक गर्थे । छिमेकमै रहेकाले आर्यन वैशाख २३ को अपराह्न उनीसित सजिलै गए । प्रहरी स्रोतका अनुसार आर्यनलाई ‘चकलेट दिन्छु’ भनेर लोभ्याएर घर लगेका शत्रुघनले त्यो बीचको समय भैंसी दुहेर नजिकै रहेको बजारमा पुर्‍याए। किराना पसलबाट २५ रुपैयाँको चकलेट किनेर ल्याए।

‘शत्रुघनले बजारमा दूध बेचेको र किराना पसलबाट चकलेट किनेको दुवै पुष्टि हुन्छ,’ अनुसन्धानमा खटिएका प्रहरीले भने, ‘बालकलाई बलि चढाइएको ठाउँबारे भने उसको फरक–फरक भनाइ छ । हामी त्यसैमा अल्झिएका छौं ।’ प्रहरीले जंगवीर भजनमण्डलीका दुई जनालाई जमुनिवासबाट पक्राउ गरेको छ ।

बालक आर्यनको हत्या हुनु चार दिनअघि नै शत्रुघनका परिवारका अरू सदस्य उपचारका लागि काठमाडौंमा थिए । प्रहरी स्रोतका अनुसार शत्रुघनले घर सुनसान भएका बेला आर्यनलाई फकाएर ल्याए ।

‘कहिले घरकै आँगनमा बलि चढाएको त कहिले नजिककै आँपबगैंचा भनेर शत्रुघनले घटनास्थल ढाँटिरहेका छन्,’ स्रोतले भन्यो, ‘बालकको बलि कहाँ चढाएको र त्यो वारदातमा ऊ एक्लै थियो कि अरू पनि, हामी त्यही खोजिरहेका छौं।’