बुवाले दिएको मिर्गौलाले उनको शरीरमा १५ मिनेटभन्दा बढी काम नगरेपछि

काभ्रेको नमोबुद्ध नगरपालिका- ३ का बुद्धसिंह लामा दुई वर्षअगाडि अचानक बिरामी परे। घुँडामुनि खुट्टा सुन्निन थाल्यो।

उनी बालुवा-गिट्टी ओसार्ने ट्रकका चालक थिए। कहिले कुन, कहिले कुन खोला जानुपर्ने, कहिले डिपो। घरिघरि आफैं बेल्चा चलाउनु पर्ने, लोडको काम पनि गर्नु पर्ने गह्रुंगो काम।

घुँडामुनि सुन्निन थालेपछि ट्रक चलाउन गाह्रो भइरहेको थियो। घुँडा किन सुन्नियो भनेर सुरूमा गाउँमै औषधीमुलो गर्न थाले। तर, गाउँको जडिबुटी र साधारण औषधीले सुन्निएको ठाउँ बसेन।

पार नलागेपछि भक्तपुर जाने निधो गरे। भक्तपुर चाँगुनारायणमा सरस्वतीखेलमा उनका माइला भिनाजु जितलाल तामाङ बस्छन्। जितलाल पेशाले मिस्त्री हुन्। ‘गाडी चलाउने मान्छे, जाँड रक्सी पनि खाँदैनथ्यो,’ जितलाल सम्झन्छन्, ‘खुट्टा सुन्निएपछि उपचार गर्न आयो, आयुर्वेदिक उपचारले पो ठिक हुन्छ कि भनेर त्यतातर्फ लाग्यौं।’

उनीहरू आयुर्वेदिक औषधालय गए। बिना परीक्षण औषधी सेवन गर्न थाले। आयुर्वेदिक औषधीले काम दिएन। बुद्धसिंह झन् बिरामी पर्न थाले। नियमित काममा जान नसक्ने भइसकेका थिए। यस्तो अवस्थामा घरै बसिरहनु उचित नहुने ठानेर उनी हिँडे।

बुद्धसिंह सुन्निएको खुट्टा लिएर फेरि भक्तपुरमा भिनाजुकहाँ आए। गाउँको जडिबुटी, आयुर्वेदिक औषधीले काम नदिएको कुराबीच खुट्टाको सुन्निने ठाउँ झन् विस्तार भइरहेको थियो। ‘हात खुट्टा सुन्निनु मिर्गौला खराब भएर हो कि’ भन्ने शंका गाउँलेले गरे।

यो शंका निवारणका लागि भिनाजुले बुद्धसिंहलाई भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा पठाए। त्यहाँ परीक्षण गर्दा डर लाग्ने रिपोर्ट आयो। बुद्धसिंहका दुबै मिर्गौला फेल भइसकेका रहेछन्। रिपोर्ट हेरेपछि बुद्धसिंहको शरीरमा रहेको बाँकी जोश-जाँगर र शक्ति पनि हराउन थाल्यो।

‘डाक्टरसाबले कि नियमित डायलासिस गर्नुपर्ने कि मिर्गौला प्रत्यारोपण गर्नुपर्छ भन्नुभयो,’ जितलालले भने। बुद्धसिंहका अगाडि कि नियमित डायलासिस गर्नु कि मिर्गौला दाता खोज्नु पर्ने विकल्पमात्रै रह्यो। सातामा तीन पटक नियमित डायलासिस र त्यसको खर्च विपन्न वर्गका बुद्धसिंहका लागि चुनौती थियो। तैपनि उनका बुवा कृष्णबहादुर छोराको स्वास्थ्योपचारका लागि भएको सम्पत्ति खर्च गर्ने निर्णयमा पुगे।

उनी आफैं छोरालाई एउटा मिर्गौला दिन तयार भए। आफ्नो मिर्गौला दिएर छोरालाई बचाउन सकुँला भन्ने उनको सपना थियो। गत चैत-वैशाखमै प्रत्यारोपण गर्ने योजना थियो। तर, कोरोना महामारीका बीच प्रत्यारोपण सेन्टरमा अप्रेसन प्रभावित भयो। उनीहरू कुरिरहेका थिए। जब प्रत्यारोपण सेन्टर खुलेको जानकारी पाए, उनीहरूले प्रक्रिया सुरू गरे। डाक्टरको सुझावअनुसार नै डेढ महिनाअघि बुद्धसिंहलाई प्रत्यारोपण केन्द्र ल्याइएको थियो। केन्द्रको प्रि-ट्रान्सप्लान्ट वार्डमा राखियो।

मिर्गौला दान गर्ने बेला भएपछि कृष्णबहादुर पनि काभ्रेबाट भक्तपुर आए। बाबुछोरा एउटै वार्डमा भर्ना भए। गत बिहीबार दुबैलाई अप्रेसन थिएटरमा झारियो। भोलिपल्ट शुक्रबार दिउँसो बाबुछोरालाई प्रत्यारोपण केन्द्रले अपरेसनमा छिराइयो। ‘अप्रेसन ‘सक्सेसफुल भयो’ भन्दै डाक्टर आए, दुबै स्वस्थ छन् भने,’ बुद्धसिंहका भिनाजु जितलालले डाक्टरको भनाइ उद्धृत गर्दै सुनाए, ‘तर, एक दिनसम्म डाक्टरले बिरामी भेट्नै दिएनन्।’

यो बीचमा के भयो, कसो भयो बाबुछोरालाई भेट्न नपाएको जितलालले बताउँछन्। ‘अप्रेसन भयो, ठिक छन् भनेपछि हामी ढुक्क भयौं,’ उनले भने।अप्रेसन गरेको २४ घन्टा बितेपछि शनिबार तीन-चार बजेतिर अचानक डाक्टरले आफन्त बोलाएर आत्तिएको भावमा भने, ‘बिरामी साह्रै छ, तुरुन्तै सिटी स्क्यान गरेर हेर्नुपर्ने भयो।’आफन्त भेला भए। आइसियूबाट बुद्धसिंहलाई सिटी स्क्यान कक्षमा ल्याइयो। जितलालका अनुसार त्यसबेला बुद्धसिंह भर्‍याकभर्‍याक गरिरहेका थिए।

‘म आज रातभरि पनि बाँच्दिनँ होला,’ बुद्धसिंह भनिरहेका थिए, ‘मेरो जीउभित्र पानी उम्लिएजस्तो भएको छ।’डाक्टरले सिटी स्क्यान गरे। रिपोर्ट हेरेपछि भने- ल, बुवाले दिएको मिर्गौलाले काम दिएन। अप्रेसन गरेर फाल्नु पर्ने भयो, नत्र बिरामीको ज्यान जान सक्छ। जितलालका अनुसार यसपछि बुद्धसिंहलाई पुन: अप्रेसन कक्षमा छिराउने तयारी भयो। डाक्टर-नर्सहरू ग्वार्ग्वार्ती आए।

‘हुन्छ भन्नुबाहेक हामीसँग के विकल्प रह्यो र,’ जितलाल भन्छन्, ‘डाक्टरले बेलुका सात बजे फेरि अप्रेसन गरेर अघिल्लो दिन हालेको बुवाको मिर्गौला झिके।’

मिर्गौला झिकेपछि डाक्टर आफन्तकहाँ आए। झिकेको मिर्गौला देखाए। हरियो भइसकेको थियो। ओल्टाइपल्टाई गर्दै डाक्टरले भने, ‘अप्रेसन गर्नुभन्दा अगाडि मिर्गौला ठिक थियो, अप्रेसन गरेको १५ मिनेटसम्म मात्र मिर्गौलाले काम दियो।’

यसको मतलब कृष्णबहादुरको मिर्गौला ‘सग्लै’ थियो। तर, बुद्धसिंहको शरीरमा जोडेपछि मिर्गौला ‘फेल’ भयो।

‘तर, कसरी?,’ आफन्तले डाक्टरलाई सोधे।

डाक्टरले भने, ‘ब्लडप्रेसर लो भएका कारण मिर्गौलाले काम दिएन। मिर्गौलाबाट रगत पास भएन।’

‘१५ मिनेट मात्र काम दिएको कुराको जानकारी हामीलाई किन दिइएन?,’ आफन्तले डाक्टरलाई सोधे।

डाक्टरले भने- कहिलेकाहीँ यस्तो हुन्छ, अब कि नयाँ मिर्गौला दाता ल्याउनुस् नभए पर्खिनुहोस् हामी ब्रेन डेड व्यक्तिबाट झिकेर मिर्गौला दिउँला।

यस्तो खबर सुनेपछि अप्रेसनबाट भर्खर निकालिएका कृष्णबहादुरलाई पिरले झनै हत्तु भए।

‘बाउछोरा एउटा-एउटा मिर्गौलाले जतिञ्जेल हुन्छ बाँचौंला भन्ने लागेको थियो,’ कृष्णबहादुर अहिले भन्छन्, ‘मेरो सग्लो मिर्गौलाले छोरालाई काम दिएन रे।’

कृष्णबहादुर अहिले जितलालको घरमा आराम गरिरहेका छन्। मिर्गौला झिकेको घाउ बिसेक हुन थालेको छ। तर, मनमा घाउ र प्रश्न सँगसँगै थपिए, एउटा मिर्गौला व्यर्थै खर्च भयो, अर्को मिर्गौलो कहाँबाट ल्याउने?

बुद्धसिंहका अरू दाजुभाइ छैनन्। तीन दिदीबहिनी मात्र छन्।

‘खै अब कोसँग मिर्गौला माग्ने? मिर्गौलाको दाता भेटिए पनि यसको शरीरले थेग्छ थेग्दैन,’ जितलालले चिन्ता व्यक्त गरे।

उनका अनुसार अस्पताल प्रशासनले अर्को मिर्गौला खोजेर हालिदिउँलासम्म भनेको छ। साथसाथै, दाता खोज्न पनि भनिरहेको छ।

‘मामा आइसियूमा हुनुहुन्छ, डिस्चार्ज भएपछि स्कुल जाऔं भनेको खै,’ कुरुवा बसेकी ८ कक्षामा पढिरहेकी भान्जी सपना तामाङले भनिन्।

सपनाका अनुसार सोमबार बिहान पौने ११ बजे डाक्टर आएका थिए। ती डाक्टरले बुद्धसिंहको फोक्सोमा पानी जमेको र निमोनियाको संकेत रहेको बताए।

बुद्धसिंह अहिले साधारण हिँड्न र बोल्न सक्छन्। सोमबार बिहान एकपटक आइसियू वार्डको ढोकासम्म उनी आएका थिए।

‘म बाँच्दिनँ होला भान्जी, अर्को मिर्गौला कसले देला र?,’ सपनाले मामाले भनेको सम्झिइन्।

उनका अनुसार अहिले भित्र चाहिने औषधी केन्द्र आफैंले व्यहोरिरहेको छ। महंगो औषधी किन्न बाहिर पठाउने गरेको छ।

‘बाहिर किनेको पैसा अहिले तिरिराख्नु, पछि हामी मिलाउँछौं,’ अस्पताल प्रशासनलाई उद्धृत गर्दै जितलाल भन्छन्, ‘औषधी किन्ने पैसा सकिएको छ।’

बुद्धसिंह केही ठिक भएर आइसियूबाहिर राखिए पनि उनको उपचार कि अर्को मिर्गौला नै हो, कि नियमित डायलासिस। चिकित्सकका अनुसार डायलासिसले भए पनि कहिल्यै मानिस सग्लो नहुने भएकाले त्यसको विकल्प प्रत्यारोपण नै हो।

अस्पताल प्रशासनले बुद्धसिंहका आफन्तलाई आश्वासन दिएको पनि छ। र, बुद्धसिंहलाई उनका बुवाले दान गरेको मिर्गौलाले १५ मिनेटभन्दा बढी काम नदिएको पनि बताइसकेको छ।

अप्रेसनपछि रक्तचाप घटेर रगतले मिर्गौला जाम भएको अस्पतालको भनाइ छ। रक्तचाप बढाउन खोजे पनि नसकिएको र अन्तत: मिर्गौला निकालेर फाल्नु परेको डाक्टरहरू बताउँछन्।

‘हामीले रक्तचाप बढाउने उपाय खोज्यौं तर सकिएन,’ प्रत्यारोपणमा संलग्न केन्द्रका प्रमुख डा. प्रेमराज ज्ञवाली भन्छन्, ‘कहिलेकाहीँ यस्तो हुन्छ, सबै प्रत्यारोपण सफल हुँदैनन्।’

यो घटनाबीच आफन्तलाई नयाँ मिर्गौला खोज्न भनिरहेको र आफूहरू पनि ‘ब्रेन डेड’ व्यक्तिको मिर्गौला पाए प्रत्यारोपण गरिदिने भनेको ज्ञवाली बताउँछन्।

प्रत्यारोपण गरिएको मिर्गौला काम नलागे सकेसम्म चाँडो त्यसलाई निकालेर फाल्नु नै उत्तम भएकाले दोहोरो अप्रेसन गरिएको ज्ञवालीले बताए।

‘मानिसको जीवनरक्षाका लागि त्यो उत्तम विकल्प थियो, जीवन बचेको छ,’ उनले भने, ‘ब्रेन डेड व्यक्तिबाट मिर्गौला झिक्ने नीति अहिले प्रक्रियामा छ, उहाँहरूलाई अस्पतालले दिने अन्य सेवा दिने नै छौं।’

आफन्तले भने यो अप्रेसनमा डाक्टरले लापरबाही गरेको आरोप लगाएका छन्। डाक्टरले प्रत्यारोपणपछि राम्रोसँग रेखदेख नगरेका कारण मिर्गौला खेर गएको बताएका छन्।

लापरबाहीका कारण भने यो घटना नभएको ज्ञवाली बताउँछन्। ‘रक्तचापको समस्या साधारण होइन, मैले आफन्तहरूलाई लापरबाही हैन भनेर काउन्सिलिङ गरेको पनि छु,’ ज्ञवाली भन्छन्।

‘ब्रेन डेड’ भनेको दुर्घटनामा परेर कसैको मस्तिष्क मृत भइसकेको छ भने त्यस्तो व्यक्तिबाट आकस्मिक रूपमा जीवित अंग-प्रत्यङ्ग निकालेर प्रत्यारोपण गर्ने प्रक्रिया हो। सेन्टरमा हालसम्म ‘ब्रेन डेड’बाट ६ जनाको शरीरमा मिर्गौला प्रत्यारोपण गरिसकिएको छ।

नेपालमा ९९.५ प्रतिशत मिर्गौला प्रत्यारोपण सफल मानिँदै आएको छ। प्रधानमन्त्री केपी ओलीले पनि नेपालमै मिर्गौला प्रत्यारोपण गरेपछि यसको विश्वसनीयता झनै बढेको ठानिन्छ।

लकडाउनपछि पुन: सुरू गरिएको पाँचौं अप्रेसनमा बुद्धसिंहको प्रत्यारोपण भने असफल भएको हो।

बुद्धसिंह बिरामी परेपछि बुवा कृष्णबहादुरले ऋणको भारी बोकेका बोकै छन्। आफूबाट निकालिएको सग्लो मिर्गौला खेर गएपछि शरीर सर्लक्कै गलेको छ।

कृष्णबहादुरका अनुसार बुद्धसिंह बिरामी भएपछि बुहारी पनि माइत गइन्। उनी दुई छोरीसाथ माइती बस्दै आएकी छिन्। उनले बुद्धसिंहको रेखदेख गर्न छोडेकी छिन्।

छोरालाई बचाउन भनेर कृष्णबहादुरले आफ्नो नाममा रहेको सात रोपनी जग्गा बैंकमा राखेर १२ लाख रुपैयाँ निकालेका थिए। त्यो १२ लाख रुपैयाँ अप्रेसन गर्नुभन्दा अगाडि नै सकियो।

अप्रेसन गर्नेबेला पैसा भएन। उनले आफ्ना बुवालाई अनुरोध गरे। नातिको उपचारका लागि हजुरबुवा डम्बरबहादुर तामाङ आफ्नो नाममा रहेको तीन रोपनी एक आना जग्गा बैंकमा राख्न तयार भए।

मेरो एउटा नाति त हो, यो जग्गा राखेर उपचार हुन्छ भने किन नगर्ने? भन्दै डम्बरले कृष्णबहादुरलाई जग्गा पास गरे। त्यो जग्गा राखेर साढे पाँच लाख रुपैयाँ लिएर हिँडेका कृष्णबहादुर यो सब घटनाक्रमले विक्षिप्त छन्।

‘मेरो त सर्वश्व सकियो, आफ्नो एउटा मिर्गौला नि खेर गयो, छोराको अवस्था ठिक छैन,’ कृष्णबहादुरले दु:ख मान्दै भने, ‘बुवालाई गएर के भन्ने होला।’