पहिलो दिन नै ट्रम्पका करिब दर्जन निर्णय उल्ट्याउँदै बाइडन

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडनले आफूले पदभार ग्रहणको पहिलो दिनमा नै राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालमा गरेका करिब एक दर्जन निर्णय उल्ट्याउने तयारी गरेका छन् । बाइडनका शीर्ष सहयोगीले शनिबार बाइडनले आफ्नो पहिलो दिनमा नै ट्रम्पले गरेका करिब एक दर्जन निर्णय उल्ट्याउन कार्यकारी आदेश जारी गर्न सक्ने बताएका हुन् ।

आफ्नो पहिलो दिनमा बाइडनले अमेरिकामा हाउजिङ, विद्यार्थी ऋण, जलवायु परिवर्तन र आप्रवासनसम्बन्धी विषयमा पहिलो दिन कार्यकारी आदेश जारी गर्नेछन् । त्यसका साथै यसअघि गरेको प्रतिबद्धताअनुसार बाइडनले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणसम्बन्धी निर्णय पनि पहिलो दिन गर्नेछन् । राष्ट्रपति बनेपछि बाइडनका चिफ अफ स्टाफ बन्न गइरहेका रोक क्लेनले दिएको जानकारीअनुसार बाइडन राष्ट्रपतिको पदभार ग्रहण गरेको पहिलो दिन निकै व्यस्त रहनेछन् ।

उनका अनुसार पहिलो दिन पेरिस सम्झौतामा सामेल हुने, केही मुस्लिम मुलुकहरुमाथि लगाइएको प्रतिबन्ध हटाउने, विद्यार्थीको ऋण भुक्तानीको समयसीमा लम्ब्याउने, निष्कासन र लिलामी प्रक्रिया तत्कालका लागि रोक्ने, अर्को राज्य वा सरकारी सम्पत्तिमा प्रवेश गर्दा मास्क अनिवार्य लगाउनेजस्ता निर्णय बाइडनले आफ्नो कार्यकालको पहिलो दिनमा गर्नेछन् ।

बाइडनले यसअघि नै यी विषयमा पहिलो दिन नै कार्यकारी आदेश जारी गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । बाइडनले पहिलो दिन नै गर्न लागेका अधिकांश आदेश ट्रम्पको नीतिको विरुद्धमा हुनेछन् र यसको कार्यान्वयनका लागि संसद्को अनुमति आवश्यक हुँदैन । यद्यपि बाइडनको कागजात नभएका आप्रवासीहरुलाई पनि नागरिकता दिने प्रस्तावको लागि भने संसद्को अनुमति आवश्यक हुन्छ ।

त्यसका साथै बाइडनले प्रस्ताव गरेको १९ खर्ब डलरको राहतको प्रस्ताव पनि संसदबाट पारित हुनुपर्छ । यद्यपि संसद्को दुवै सदनमा डेमोक्रेटिक पार्टीको नियन्त्रण रहेकाले उनलाई आफ्नो योजना पारित गराउन भने केही सहज हुनेछ ।