‘कौन बनेगा करोडपति’बाट अवकास लिँदै अमिताभ

बलिउड अभिनेता अमिताभ बच्चनले लोकप्रिय कार्यक्रम ‘को बन्छ करोडपति’बाट अवकास लिएका छन्। गत हप्ता उनले ‘को बन्छ करोडपति १२’को अन्तिम श्रृङ्खलाको सुटिङ सकाएका हुन्। अमिताभको यही अन्तिम श्रृङ्खला रहेको जी न्युजले लेखेको छ।

अमिताभले आफ्नो ब्लगमार्फत् समेत यस विषयमा जानकारी दिएका छन्। उनले लेखेका छन्, ‘म थाकित छु र रिटायर्ड पनि। क्षमा गर्नुस्। केबिसीको यो अन्तिम छायांकन निकै लामो रह्यो। भोलि जे पनि हुनसक्छ। तर याद राख्नुस् काम भनेको काम नै हुन्छ। आफ्नो काम इमानदारिपूर्वक गर्नुपर्छ।’

कार्यक्रमको अन्तिम शृ‌ंखलाको सुटिङबाट आफूले राम्रो बिदाइ पाएको भन्दै अमिताभले थप लेखेका छन्, ‘यो अन्तिम सुटिङसँगै तपाईंहरूको स्नेह र प्रेमले मलाई बिदाइ गर्यो।’ उनले काैन बनेगा करोडपतिको टोलीले एक अर्काको निकै ख्याल राख्ने र कडा परिश्रम गर्ने गरेका बताउँदै यो सेटबाट टाढिन गार्ह्रो भएको समेत जनाएका छन्।

केबिसीसँगको सहकार्यले धेरै माया, हेरचाह र स्नेहले आफू गदगद भएको भन्दै अमिताभले आफ्नो ब्लग टुङ्ग्याएका छन्। आफ्ना प्रशंसक र शुभचिन्तकहरूसँग अभिताभ विभिन्न सामाजिक सञ्जालबाट जोडिइरहेका हुन्छन्।

७८ वर्षीय अभिनेता अमिताभको अभिनय रहेको फिल्म ‘मेडे’ र ‘ब्रह्यमास्त्र ’ सार्वजनिक हुने तयारीमा छन्।