
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई क्रिस्चियन धर्म प्रवर्द्धन गर्ने दक्षिण कोरियाको काङनाम विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधि दिएको छ । बुधवार काठमाडौंमा एक समारोहको आयोजना गरेर विश्वविद्यालयका पे्रसिडेन्ट डा. शिनिल युनले ओलीलाई उपाधि प्रदान गरेका हुन् ।
सन् १९४६ मा स्थापित काङनाम विश्वविद्यालयको वेबसाइटमा उसको स्थापना गर्नुको उद्देश्य (फाउन्डिङ स्पिरिट) मा लेखिएको छ, ‘हामीहरू समाज र मानव जातिका लागि क्रिस्चियन धर्मको मर्म तथा मानवीय आदर्श अन्तर्गत रही ग्योङचेओनाएन (स्वर्गको पूजा तथा मानवताको प्रशंसा) को अभ्यास गर्ने प्रतिभाशालीहरूलाई प्रोत्साहन गर्छौं तथा सत्य, स्वतन्त्रता, समानता र कल्याणको मार्गमा हिँड्छौं ।’
दक्षिण कोरियाका क्रिस्चियन समूहहरूप्रति प्रधानमन्त्री ओलीको मोह यसअघि पनि देखिएको छ । गत वर्ष उनले दक्षिण कोरियामा रहेको युनिफिकेसन चर्चकी हाक जा हान मदर मूनबाट प्रसादस्वरूप पवित्र रक्सी होली वाइन लिएको चर्चापछि उनको चर्को आलोचना भएको थियो ।
युनिफिकेसन चर्चले नेपालमा गरेको कार्यक्रममा नेपाल सरकारलाई सहआयोजक बनाएको थियो । उक्त संस्थाले प्रधानमन्त्री ओलीलाई सुशासन पुरस्कार पनि दिएको थियो ।
दक्षिण कोरियाली क्रिस्चियन संगठनहरूसँग निकट सम्बन्ध बनाएका पूर्वमन्त्री एकनाथ ढकालले प्रधानमन्त्री ओली र वरिष्ठ नेताहरूलाई देशमा तथा विदेशमा विभिन्न किसिमका उपाधि र मानपदवीहरू दिलाउने गरेका छन् ।