गणतन्त्रसम्म आईपुग्दा चार छोरा गुमाएकी हेटौंडाकी एक्ली आमाको पीडा (भिडियो)

काठमाडौ। हेटौंडा बजार नजिकै शान्तिनगरको सुकुम्बासी टोललाई ‘३७ घरे’ पनि भनिन्छ । नेपालमा प्रजातन्त्र र लोकतन्त्रको उदयपछि बनेको यो सुकुम्बासी बस्तीमा ३७ घरपरिवार बसोबास गर्ने भएकाले टोलको नाम फेरिएको हो । ‘निको हुने घाउमा माक्रै खाटो बस्ने रहेछ बाबु,’ रत्तअल्पता र दमको बिमारले थलिएकी सुभद्रा बिस्तारै बोल्न थालिन्, ‘यो ३० वर्षमा एकपछि अर्को गर्दै मेरा ४ जना छोरा बेपत्ता भएको कुरो खाटो नबस्ने घाउझैं बनेको छ ।’

सुभद्रा ग्रहदशा कटाउने बहानामा ‘शनि पूजा’ हरेक शनिबार गर्छिन् । लिपपोत गरिएको साँघुरो कौसीमा बसेर कुराकानी गरिरहँदा कुनै घडी उनी केही सम्झेजस्तो गर्दै आफू सुत्ने खाटमुनिको कागजको थैलो झिक्न जान्थिन् । कुनै घडी बोरामा राखिएका पोकापोकीमाझ आफ्ना छोरा र श्रीमानको फोटो खोजिरहेकी हुन्थिन् । पिसाबबाट रगत जाने, एउटा किड्नी खराब भइसकेको र क्यान्सरको आशंका गरिएको उनको हालतले पनि हुन सक्छ, जति कुरा सम्झन खोज्थिन्, उति नै भक्कानिरहेकी पनि थिइन् ।

दमले सताएका बेला सुघ्ने औषधि (एयरटेक एसएफ), रगत बढाउने औषधि (हेमप्लस) देखि ‘हेपाटप’ (सलभर टनिक) तथा ‘गौ अर्क’, ‘अविपत्तिकर’, ‘काञ्चना र गुलगुल’, ‘चन्द्रप्रभा वटी’ आदि एक दर्जनभन्दा बढी एलियोप्याथी–होमियोप्याथी औषधिमूलो नित्य खाइरहन्छिन् ।

साथमा पैसा नभएर एक महिनायता यो तालिका छुटेको छ । ‘यहाँ बिहानबेलुका कसरी छाक टार्ने भन्ने स्थिति छ । साहुले दिएको चामलदालको पैसा तिर्न सकेकी छैन । औषधिमूलो त टाढाको कुरा भयो बाबु,’ सुभद्राले गहमा आँसु झार्दै सुनाइन् । बाल्यकालमा एकदमै फरासिली र उत्सुक स्वभावकी सुभद्रामाया धुलिखेल, काभ्रेमा जन्मिएकी थिइन् ।

काभ्रेकै फलामटारमा उनको ९ वर्षकै उमेरमा बिहा भएको थियो, २५ वर्षे नेत्रबहादुर दर्नालसँग । पहिलो सन्तान उनी १२ वर्ष उमेर छँदै जन्मियो, तर केही घण्टामात्रै बाँच्यो । फेरि १४ वर्ष पूरा नहुँदै अर्की छोरी जन्मिई । त्यो पनि उमेरमा २ वर्ष नलाग्दै बिती । ‘अनि त्यो ठाउँ फापेन भनेर मेरा बूढाले २०२२ सालमा हेटौंडाको हटिया बसाइँ ल्याएका हुन्,’ सुभद्राले सम्झिन्, ‘यता आएर सन्तान त अडिए तर दुःख र संघर्ष भने झनै बेहोर्नै नसकिने गरी थपिँदै गए ।’

सुभद्राले हटियामा खुरुखुरु ८ सन्तान जन्माइन्– ५ छोरा र ३ छोरी । ‘मैले जति कष्ट त संसारका कुनै आमाले पनि गरेका छैनन् होलान् बाबु,’ छोराछोरी हुर्काउँदाका दिन सम्झेर सुभद्रा भन्दै थिइन्, ‘एउटै डोकोमा छोराछोरी र गाग्री सँगै बोकेर पानी लिन जानुपर्थ्यो ।

आफू बाँच्ने कि छोराछोरीलाई बचाउने भन्ने डरत्रासबीचमै तिनलाई हुर्काएकी थिएँ ।’ श्रीमान नेत्रबहादुर भने सुरुका वर्षहरूमा दर्जी पेसामा थिए । पछिल्ला वर्षमा उनी धामीझाँक्री पेसा र समाजसेवामा लागे । उनको पनि ८० वर्षको उमेरमा ७ वर्षअघि निधन भइसकेको छ । ‘आफू त भातभान्सा र घरधन्दामै सधैंभर डुबिरहें,’ सुभद्रा सम्झिन्छिन्, ‘छोराछोरीले ५ कक्षाभन्दा माथि पढ्न नसके पनि सिलाइबुनाइ पेसामा हात बसालिसकेका थिए, जेठो काजी र माइलो भक्तले त राम्रैगरी सीप सिकेका थिए । तर, केको देस्यानले छोयो छोयो, सबै जना आँखाबाट ओझेल पर्दै गए ।’

सुभद्राका बुझाइमा कामधन्दा र सीप सिकिरहेकै बेला २०/२२ वर्षे जेठा र माइला छोरामा एकैचोटि गाउँघर बदल्ने, देशको अनुहारै फेर्ने धुन चढिसकेको थियो । देशमा जनआन्दोलनको लहर बढ्दै गएका बेला २०४५ सालको अन्तिमदेखि दुई दाजुभाइ काजी र भक्त जुलुस, भेलामा कुद्न थालिसकेका थिए । कहिले दिउँसै हराउँथे, कहिले राति ।
२०४६ चैत २६ मा बहुदलीय व्यवस्था पुनर्बहाली भएपछि ‘अब प्रजातन्त्र आयो, देशमा राम्रो हुन्छ, हामी गरिबदुःखीले नि बोल्न, लेख्न र गरिखान राम्ररी सक्छौं’ भन्दै जेठा–माइला देशको झन्डा बोकेर जुलुसमा गएका थिए रे । ‘उनीहरू आफूलाई बहुदले पार्टी मात्रै भन्थे,’ सुभद्राले सुनाइन् ।

नाममा प्रजातन्त्र आए पनि आफ्नो घरधन्दा र बिहानबेलुकीको जोहो टार्ने समस्या आफैंसँग थियो । त्यसमाथि जेठा(माइलाकै बिहा भइसकेकाले रोजीरोटी र गरिखाने निहुँमा दर्नाल परिवारमा तनाव थपिएकै थियो ।

‘२०४८ वैशाख २९ मा चुनाव भएलगत्तै जेठ ५ गतेका दिन दुवै जना दाजुभाइ (काजी र भक्त) ‘हामी बजार गएर आउँछौं’ भनेर निस्कनुभएको थियो, सामान्य फिते चप्पल र सर्ट(पाइन्टमा निस्कनुभएका उहाँहरू कहिल्यै घर फर्किनुभएन,’ माइलो भक्तबहादुरकी श्रीमती निर्मला दर्नालले सुनाइन्, ‘अनेक खोजबिन गर्‍यौं, अड्डाअदालत गयौं, कतै भेटिएनन् ।’

निर्मला पनि सुकुम्बासी बस्तीकै बासिन्दा बनेकी छन् । उनीसँग आफ्नो श्रीमान्को सम्झना र चिनो भनेको एउटा धुमिल बनिसकेको नागरिकता मात्रै छ । श्रीमान्ले आफूलाई छाडेर हिँड्दा साथमा दुईवर्षे छोरी जन्मिसकेकी थिई । त्यही छोरीतर्फबाट जन्मेकी एक नातिनीलाई पढाउने(हुर्काउने काम गरेर निर्मला सुकुम्बासी टोलमा बसिरहेकी छन् ।

जेठो छोरा काजीबहादुर दर्नालको त त्यही नागरिकता वा फोटो पनि कतै भेटिएन । आमा सुभद्रासँग पनि जेठो छोराको हुलिया मात्रै मानसपटलमा आइरहन्छ । अहिले हटियामै बस्ने काजीकी श्रीमती बुद्ध दर्नालका अनुसार २०४८ वैशाखको चुनावमा एक महिनाजति ‘म्यादी प्रहरी’ समेत बनेका श्रीमान् जेठ ५ गते अफिस (प्रहरी कार्यालय) जान्छु भनेर घर छाडी हिँडेका थिए । श्रीमती बुद्धले काजीको म्यादी प्रहरीको परिचयपत्रसमेत देखाइन् । काजीसँगै उनका भाइ भक्त पनि म्यादी प्रहरीमै भर्ना भएका थिए ।

‘त्यही वर्ष असारतिर भारत, दिल्लीको ठेगाना राखेर एउटा चिठी आएको थियो रे । हामी आउने दसैंमा फर्कन्छौं भनेका थिए रे,’ फेरि बूढी आमा सुभद्रा सुस्केरा छाड्दै भनिरहेकी थिइन्, ‘न त्यस्तो दसैं कहिल्यै आयो, न छोराहरू नै फर्किएर आए ।’ तर, यो चिठीको कुरा पनि ‘अरे’ मात्रै रहेछ, यसको प्रमाण पनि कोहीसँग थिएन । हेटौंडाबाट बाबु नेत्रबहादुरले त्यो चिठीको ‘जवाफ’ फर्काएका थिए, तर ‘ठेगाना मिलेन’ भनेर हुलाकले चिठी फिर्ता गरिदिए ।
सुभद्राको साइँलो छोरा भीमबहादुर भने हटिया गाउँबाट काठमाडौंमा रोजीरोटीका लागि छिरेका रहेछन् । ‘जग्गा किनबेचको काम गर्छु भन्थ्यो,’ सुभद्राले सुनाइन्, ‘यहाँ हटियामा १० कट्ठाजति हाम्रो जमिन थियो, त्यो बिक्री गरेर आएको पैसामध्ये अलिकति साइँलो छोराले लिएर गएको थियो । बाँकी रहेको पैसा श्रीमानले यताउता गरेरै सके । सुकुम्बासी बनेर १० वर्षअघि यो टोलमा बस्न आएकी हुँ ।’

कुनै रोग लागेर साइँलो छोरा भीमको ४ वर्षअघि काठमाडौंमै निधन भएपछि शव आफ्नो बस्ती नजिकै कुख्रेनी खोलामा ल्याएर सुभद्राले अन्तिमसंस्कार गरेकी थिइन् । बाँकी यस भिडियोमा हेर्नुहोस: