शव भेटिएको २३ दिनपछि सम्झना बोहराको अन्त्येष्टि

बेपत्ता भएको १९ दिनपछि शव फेला परेको सम्झना बोहरा खत्रीको अन्त्येष्टि गरिएको छ।

गुल्मीको रेसुङ्‍गा-३ की सम्झनाको आज अन्त्येष्टि गरिएको हो। मृतक सम्झना २३ दिनअघि अर्थात् गत माघको २९ गतेदेखि बेपत्ता भएकी थिइन्। यही फागुन १७ गते घरनजिकै उनको श’व फेला परेको थियो।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रवक्ता पुरुषोत्तम पाण्डेयका अनुसार बोरामा रहेको श’वलाई ढुङ्‍गाले थिचेको थियो।

ह’त्यामा संलग्‍नलाई प’क्राउ गरेर प्रहरीले सार्वजनिक गरेपछि माइतीपक्षको सहमतिमा ससुरा गणेशबहादुर खत्रीले श’व बुझेका थिए।

प्रहरीले श’व फेला परेको फागुन १७ गते ४७ वर्षीय लालबहादुर खत्रीलाई नियन्त्रणमा लिएको थियो। शंकास्पद देखिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा हत्या गरेको स्वीकार गरेपछि खत्रीलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको थियो।

हत्यामा संलग्‍न गरेको आरोपमा खत्री सार्वजनिक भएपछि माइतीको सहमतिअनुसार ससुरा गणेशबहादुरले शव बुझेका थिए। आरोपी लालबहादुर पनि नातामा सम्झनाको काका ससुरा हुन्।

सम्झनालाई न्याय दिनुपर्ने भन्दै भएको प्रदर्शनमा उनको पनि सहभागिता रहने गरेको प्रहरीले जनाएको छ। गुल्मी प्रहरी प्रवक्ता डीएसपी पाण्डेयले घटना स्वीकारे पनि थप अनुसन्धान भइरहेको बताए।

घटनामा को-को संलग्‍न रहेको र घटनाको कारण के थियो भन्‍ने खुल्न बाँकी रहेको उनले बताए।